काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारी दलहरू सत्तामा रहँदा भ्रष्टाचारीलाई जोगाउन लागिपर्ने र सत्ताबाट बाहिरिएपछि त्यसको विरोध गर्ने गर्ने गरेको आरोप लगाउनुभएको छ ।
२०८१ भदौ ११ गते मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले सत्तामा रहँदा भ्रष्टाचारीलाई जोगाउने र सत्ताबाट बाहिरिएपछि त्यसको विरोध गर्ने परिपाटी ठुला दलहरूमा रहेकाले मुलुकमा भ्रष्टाचार बढ्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘सत्तामा छदाखेरी आँखा चिम्लेर परिवारवाद, भ्रष्टाचारीहरूलाई जोगाउने, तिनबाट फाइदा उठाउने, जब सत्ताबाट बाहिर हुन्छ अनि पानीबाट बाहिर निकालेको माछा जस्तो उफ्रने काम बन्द गर्नुपर्छ ।’
उहाँले नेकपा (माओवादी केन्द्र) को सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्छ भन्ने माग जायज रहेको टिप्पणी गर्नुभयो । प्रमुख प्रतिपक्ष दल भएकाले माओवादी केन्द्रले सो पद माग गर्नु उचित भएको उहाँको भनाइ थियो ।
अध्यक्ष केसीले आफ्नो पार्टीले पनि प्रतिपक्ष दलको हैसियतमा रहँदाखेरी सो पद पाएको स्मरण गराउँदै त्यो नियमको पालना गर्न सत्तारूढ दलहरूलाई आग्रह पनि गर्नुभयो ।
केसीले भन्नुभयो– ‘संसदीय व्यवस्था भएका मुलुकमा त्यसका केही मूल्यमान्यता छन् । अहिले प्रतिपक्षका साथीहरूले लेखा समितिको सभापति आफ्नो हुनपर्छ भनेर उहाँहरूले जो माग गर्नुभएको छ । त्यो जायज छ । हाम्रो पार्टी पनि प्रतिपक्षमा छँदा कङ्ग्रेस सत्तामा हुँदाखेरी राष्ट्रिय जनमोर्चालाई लेखा समितिको सभापति दिएको थियो नेपाली कङ्ग्रेसले । त्यो नियम त पालना गर्नुपर्यो नि ।’
अध्यक्ष केसी संसदीय मूल्य र मान्यता विपरीत चल्ने काम पनि ठुला दलहरूले नै गरेको आरोप लगाउनुभयो ।