काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपमा घरेलु टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा २०८१ भदौ ६ गते बिहीबार भएको खेलमा नेपाली युवा टोलीले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
समूह ए को अन्तिम खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो ।
पहिलो हाफको पन्ध्रौँ मिनेटमा नेपाली युवा टोलीले सुरुआती अग्रता बनाएको थियो । निराजन धामीको गोलमा नेपालले अग्रता बनाएको थियो। लगत्तै सोह्रौँ मिनेटमा समीर तामाङको गोलमा नेपालले अग्रता दोब्बर पार्यो ।
पहिलो हाफको इन्ज्युरी समयमा बङ्गलादेशले १ गोल फर्कायो । इस्लामको गोलमा बङ्गलादेशले खेलमा २–१ को अवस्थामा ल्यायो । खेलमा नेपालले थुप्रै अवसरको सृजना गरे पनि फिनिसिङ लाइन भने कमजोर देखियो ।
हारका बाबजुद पनि बङ्गलादेश समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको छ । समूह ए बाट दुई खेलमा पराजित भएको श्रीलङ्का भने समूह चरणबाटै बाहिरिसकेको छ ।
नेपालले अब सेमिफाइनलमा समूह बी को उपविजेता टोलीसँग खेल्ने छ । बङ्गलादेशले भने समूह ए को विजेतासँग खेल्ने छ ।
नेपालले पहिलो खेलमा श्रीलङ्कालाई १–० ले पराजित गरेको थियो । समूह चरणका दुई खेलमा जित निकाल्दै अपराजित रहेको नेपालले ६ अङ्क बनाएको छ । एक खेलमा जित निकालेको बङ्गलादेश भने ३ अङ्कमा दोस्रो स्थानमा रहँदै समुह उपविजेता बनेको हो । जितविहीन श्रीलङ्काले भने खाता खोल्न सकेन ।
समूह बी मा रहेका भारत, भुटान र मालदिभ्स तीनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै छ । समूह बी को अन्तिम खेलमा भोलि शुक्रबार भारत र मालदिभ्स खेल्ने छन् । यो खेलपछि सेमिफाइनल समीकरण पूरा हुने छ ।
समूह बी मा भारत र भुटानले समान एक खेल जितेका छन् । भारत र मालदिभ्सले एक खेल खेल्न बाँकी छ । भोलिको खेलमा भारतले मालदिभ्सलाई पराजित गरे भुटान सेमिफाइनलमा पुग्ने छ ।

