काठमाडौँ । नेपाल राष्ट्रय बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
आव २०८०/८१ को वार्षिक तथ्याङ्कमाथि आधारित रहेर २०८१ भदौ २ गते आइतबार वेबसाइटमा उक्त वित्तीय स्थिति सार्वजनिक गरिएको हो ।
औसत मुद्रास्फीति घट्यो
राष्ट्र बैङ्कले गत आवमा वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको बताएको छ । त्यसमध्ये खाद्य तथा पेयपदार्थको मुद्रास्फीति ६.४७ तथा गैरखाद्य तथा सेवातर्फको मुद्रास्फीति ४.६४ रहेको थियो । गत वर्षको औसत मुद्रास्फीति ७.७४ प्रति रहेको थियो ।
आयातनिर्यात प्रतिशत घट्यो
यस वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।
यस अवधिमा जिङ्क सिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, पिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, ऊनी गलैँजा, ब्रान्स, जुटका सामानलगायतको निर्यात बढेको छ ।
यता, यातायात उपकरण, सवारी साधन तथा स्पेयर्स पार्टपुर्जा, तयारी पोशाक, हवाईजहाजको स्पेयर्स पार्टपुर्जा, विद्युतीय उपकरण, अन्य मेसिनरी पार्टस्लगायत वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, हट रोल्ड सिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामललगायतका वस्तुको आयात घटेको छ ।
बढ्यो विप्रेषण
गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपियाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । गत वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशत प्रतिशतले बढेको छ ।
यस अवधिमा नयाँ श्रमस्वीकृति लिनेको सङ्ख्या ४ लाख ६० हजार १०३ तथा पुनः श्रमस्वीकृति लिनेको सङ्ख्या २ लाख ८१ हजार १९९ रहेको छ । गत वर्ष नयाँ श्रमस्वीकृति लिनेको सङ्ख्या चार लाख ९७ हजार ७०४ र पुनः श्रमस्वीकृति लिनेको सङ्ख्या २ लाख ७७ हजार २७२ रहेको थियो ।
शोधनान्तर स्थिति बढ्दै
गत आवमा शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोड रुपियाँले बचतमा रहेको छ । यसभन्दा अघिको वर्षमा शोधनान्तर स्थिति २८५ अर्ब ८२ करोड रुपियाँले बचत रहेको थियो ।
बढ्यो विदेशी विनिमय सञ्चिति
विदेशी विनिमय सञ्चिति गत वर्ष १५ अर्ब २७ करोड अमेरिकी डलर पुगेको छ । यो रकमले १३ महिनाको वस्तु तथा सेवा आयात धन्न सक्ने छ । त्यस्तै, यो रकमले १५.६ महिनाको वस्तु आयात धान्न पर्याप्त मानिएको छ ।
मुद्रा प्रदाय बढ्यो
गत आवको मुद्रा प्रदाय १३.० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त मुद्रा प्रदाय ११.२ प्रतिशत रहेको थियो ।
बढ्यो निक्षेप तथा कर्जा
गत आवमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३.० प्रतिशतले बढेको छ । गत वर्षमा यस्तो निक्षेप सङ्कलन १२.३ प्रतिशत रहेको थियो ।
त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह ५.८ प्रतिशतले, विकास बङ्कको कर्जा प्रवाह ५.० प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ७.७ प्रतिशतले बढेको पाइएको छ ।
कुल निक्षेप
२०८१ असार महिनाको मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप रु. ६४ खर्ब ५२ अर्ब पुगेको छ । त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जाको रकम रु. ५० खर्ब ७४ अर्ब पुगेको छ ।
घट्यो ब्याजदर
गत आवमा ब्याजदर घटेको देखिन्छ । औसत आधार दरमा वाणिज्य बैङ्कको ब्याजदर १०.०३ बाट घटेर ८.०० प्रतिशत, विकास बैङ्कको १२.१५ बाट घटेर ९.७१ प्रतिशत र वित्त कम्पनीको ब्याजदर १३.४१ बाट घटेर ११.२१ प्रतिशत पुगेको छ ।
त्यस्तै, निक्षेपतर्फको ब्याजदर पनि घटेको छ । यस क्रममा वाणिज्य बैङ्कको ब्याजदर ७.८६ बाट घटेर ५.७७ प्रतिशत, विकास बैङ्कको ९.१४ बाट घटेर ६.६३ प्रतिशत र वित्त कम्पनीको ९.७९ बाट घटेर ७.९३ प्रतिशत पुगेको छ ।
एवम् प्रकारले कर्जाको ब्याजदर पनि घटेको छ । वाणिज्य बैङ्कको ब्याजदर १२.३० प्रतिशतबाट घटेर ९.९३ प्रतिशत, विकास बैङ्कका ब्याजदर १४.१० बाट घटेर ११.३४ प्रतिशत र वित्त कम्पनीको ब्याजदर १४.८२ बाट घटेर १२.५५ प्रतिशतमा पुगेको छ ।
बैङ्क तथा वित्तीय संस्थाको पहुँच बढ्दै
गत एक वर्षमा बैङ्क तथा वित्तीय संस्थाका पहुँच सामान्य रूपले बढेको छ । यस क्रममा वाणिज्य बैङ्कको शाखा ७ बढेर ५०५६, विकास बैङ्कको शाखा ७ बढेर ११३५ र वित्त कम्पनीको शाखा ४ बढेर २८८ पुगेको छ । यता, लघुवित्त वित्तीय संस्थाको शाखा भने ५१ घटेर ५०७७ मा सीमित भएको छ । त्यस्तै, एउटा पूर्वाधार विकास बैङ्क पनि बन्द भएको छ ।
बढ्यो पुँजीबजार
पुँजीबजारमा भने गत आवमा केही वृद्धि देखा परेको छ । नेपाल स्टक एक्सचेन्जमा गत वर्षको असारमा २५४ ओटा कम्पनी सूचीकृत भएकोमा अहिले त्यो सङ्ख्या बढेर २७० पुगेको छ । यसमध्ये १३२ बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनी, ९१ ओटा जलविद्युत् कम्पनी, २२ ओटा उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।