काठमाडौँ । सुन व्यवसायको कथालाई आधार बनाएर नेपाली चलचित्र “नम्बरी सुन” तयार गरिएको छ ।
चलचित्रका निर्माता तथा कलाकार नारायण खातीले सुनको काम कसरी अगाडि बढ्यो ?, कालीगढी काम कसरी बढ्यो ? लगायतका विविध प्रश्नको जवाफ उक्त चलचित्रमा बनाइएको बताए ।
उहाँले भन्नुभयो–’सुन नागरिकको जन्मदेखि मृत्युसम्म जोडिएको वस्तु हो । यसको आफ्नै इतिहास छ । यस्तै एउटा कथालाई चलचित्रमा ल्याउँदै छौँ । यसले मनोरञ्जनसँगै सुनसँग जोडिएको तथ्यलाई दर्शकसम्म पुर्याउने छ ।’
सुनको इतिहाससँगै विभिन्न वर्गका युवा युवतीबिचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना–परिघटनालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरीलगायतका कलाकारले अभिनय रहेको छ ।
चलचित्र यही साउन २५ गतेदेखि प्रदर्शन हुँदै छ ।