काठमाडौँ । राष्ट्रिय जनमोर्चा दाङले कतिपय स्थानीय तहले राहतका लागि काम गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेकोमा त्यसको विरोध गरेको छ । २०७७ वैशाख २१ गते राजमो दाङका अध्यक्ष गणेश आचार्यको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा सो विरोध व्यक्त गरिएको हो ।
वडाध्यक्षको नेतृत्वमा सर्वदलीय समिति बनेर अभिलेख निर्माण तथा राहत वितरण गर्ने निर्णय भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको, बरु कतिपय स्थानमा अनियमितता भएको, लकडाउनको अवसरमा वन्यजन्तु चोरीनिकासी तथा वनजङ्गलको अवैध कटानी भएको, अत्यावश्यक आवतजावतमा कठिनाइ भएको, किसानको उपजले मूल्य नपाउँदा जीविकोपार्जनमा समस्या भएकोजस्ता विषय उठाएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“१. कोरोना भाइरसको विश्व महामारीका कारण देश बन्दाबन्दीको अवस्थामा भएको र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरले दैनिक काम गर्न नपाउँदा उनीहरूको जीविकोपार्जनमा समस्या भएकाले स्थानीय रूपमा वडाध्यक्षको नेतृत्वमा सर्वदलीय समिति बनाई त्यही समितिले त्यस्ता नागरिकको अभिलेख तयार गरी राहत उपलब्ध गराउने निर्णय भएता पनि त्यस ढङ्गले काम नगरेको र राहतमा व्यापक अनियमितता भएको छ । यसमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले अझै पनि त्यो अनियमिततालाई रोकी वास्तविक दैनिक ज्यालादारी मजदुर र विपन्न नागरिकलाई मात्र राहतको व्यवस्था गर्न जोड दिन चाहान्छौँ ।
२. कतिपय स्थानीय तहले राहतलाई काम गरेमा मात्र पाउने व्यवस्था गरेको कुराले पनि हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । यो विषम परिस्थितिमा मजदुरले काम गर्ने अवस्था छैन । अरू सबै सुरक्षित हुनका लागि घरमा बस्ने मजदुरलाई बाँच्नकै लागि यो बेलामा काम गराउँदा उनीहरूलाई जोखिम हुने र त्यसो गर्दा कतै सङ्क्रमण रहेछ भने सबैलाई जोखिम हुन सक्छ । यो सही भएन । अर्कोतर्फ, काममा लगाएपछि राहत हुँदैन, त्यो ज्याला हो । यसरी कामको कुरा गरेर राहतबाट बन्चित गराउनु सही हँुदैन । यसमा पुनर्विचार गर्न सम्बन्धित सबैमा अनुरोध गर्न चाहन्छौँ ।
३. अहिले बन्दाबन्दीको बेला पनि वन्यजन्तु चोरीनिकासी तथा वनजङ्गल अनियमित रूपमा काट्ने काम भइरहेको छ । यसलाई नियन्त्रण गर्न जोड दिन चाहान्छौँ ।
४. बन्दाबन्दीको बेलामा कतिपय नागरिक प्रशासनसँग पहुँच नहुँदा अत्यावश्यक काममा पनि आवतजावत गर्न कठिनाइ भइराखेको छ । त्यसैले त्यसलाई सहज बनाउन अनुरोध गर्न चाहान्छौँ ।
५. गाउँमा तरकारी उत्पादन गरी दैनिक बजारमा बिक्री गरेर जीविकोपार्जन गर्ने किसानको समस्या बढेको छ । खेतबारीमा तरकारी तयार भएको छ । भारतबाट आउने तरकारी रोकिएको छैन । गाउँमा तरकारी नोक्सान भएको छ । किसानलाई जीविकोपार्जनमा समस्या भएको छ । त्यसैले त्यो तरकारी बिक्री गर्ने वातावरण निर्माण गरिदिन जरुरी छ ।
६. कोरोना भाइरसको विश्व महामारीको यो बेलामा स्थानीय रूपमा अप्ठ्यारोमा परेका आम नागरिकलाई साथसहयोग दिनका लागि पार्टीका सम्पूर्ण नेता÷कार्यकर्तालाई अनुरोध गर्न चाहान्छौँ ।”

