वासिङटन । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको निर्वाचन अभियान प्रभावकारी बन्न थालेको छ ।
अगस्त ७, २०२४ बुधबारका दिन विस्कन्सिनको इऊ क्लेयरमा सम्पन्न प्रदर्शनमा हजारौँ समर्थकको सहभागितामा करिब एक किलोमिटरभन्दा लामो भिड भेला भएपछि यस्तो निष्कर्ष निकाल्न थालिएको हो ।
यसअघि फिलाडेल्फियामा अगस्त ६, २०२४ का दिन करिब १४ हजार मतदातासहित चुनावी सभा सम्पन्न गरिएको थियो । कमलाको प्रचार अभियानबाट उनका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प पछि पर्न थालेको अमेरिकी सञ्चार माध्यमहरूले बताउन थालेका छन् ।
मिनेसोटाका गभर्नर वाल्ज, मिसिगनमा समर्थकको मानवसागर देखेर दङ्ग थिए । अभियानका अधिकारीले यसलाई १५ हजार सहभागी भएको जुलुस बताए भने वाल्जले यसलाई अभियानको सबैभन्दा ठुलो र्याली भएको दाबी गरे ।
बाराक ओबामाको शासनकालमा डेमोर्क्याटिक पार्टीको राजनीतिक कार्यक्रममा भाग लिने थुप्रै अमेरिकीको सहभागिता सामान्य हुन्थ्यो तर पछिका डेमोर्क्याटिक उम्मेदवारका लागि यो विरलैको घटना थियो । एक चमत्कारिक अश्वेत युवा उम्मेदवार ओबामाले राष्ट्रपति बन्नका लागि अवरोध तोडेका थिए ।
ओबामा र ट्रम्पपछिका दर्जनौँ वर्षमा यस्ता दृश्य दुर्लभ भएका थिए । अहिले कमलाको सन्दर्भमा यस्ता दृश्य पुनः ताजा भएर आएका छन् ।
युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनका राजनीतिका प्राध्यापक ब्यारी बर्डनले भने– ॅट्रम्प समर्थकका लागि यो चिन्ताको विषय बनेको छ भने ह्यारिसका लागि गर्वको । ह्यारिसका जुलुसले सन् २०२० मा बाइडेन र सन् २०१६ मा क्लिन्टनको तुलनामा धेरै ठुलो भिडलाई आकर्षित गरेको छ ।’ (रासस/एएफपी)