काठमाडौं । भेनेजुएलाको राष्ट्रपतिमा निकोलास मादुरो पुनः निर्वाचित भएको घोषणा गरिएको छ ।
प्रतिपक्षी दलले भने मादुरो विजयी भएको घोषणालाई धाँधलीपूर्ण भन्दै ७३.२ प्रतिशत मत पाएर गोन्सालेस विजयी भएको गरेको दाबी गरेको छ ।
मादुरो विजयी भएको घोषणापछि देशको राजधानी काराकासमा हजारौँ मानिसहरू आन्दोलित बनेका छन्। आन्दोलनकारीले विरोधप्रदर्शन गर्दै राष्ट्रपति कार्यालय घेराउ गर्न पुगेको बीबीसीले जनएको छ । आन्दोलनकारीलाई रोक्न सुरक्षाकर्मीले अश्रु ग्यास र रबरका गोली प्रहार गरेका छन्।
प्रदर्शन बढ्दै गएपछि राजधानी काराकासमा पानीका फोहरा प्रहार पर्ने साधनहरूसहित ठूलो सङ्ख्यामा सैनिक र प्रहरीहरू परिचालित छन्।
मादुरो ११ वर्षदेखि भेनेजुएलामा सत्तासिन छने । विपक्षी पार्टीहरूले भने उनलाई हटाउन एड्मुन्डो गोन्सालेसलाई समर्थन गरेका थिए ।
राष्ट्रपति मादुरो कुनै बेला बस चलाक थिए। उनी लामो समयसम्म श्रमिक आन्दोलनमा आबद्ध भए। सन् २०१३ मा निकै कम मतान्तरले पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए।
मादुरोले सन् २००६ देखि २०१३ सम्म चाभेज सरकारमा विदेशमन्त्रीको भूमिका पाएका थिए। सन् २०१३ को मार्चमा चाभेजको निधन भएपछि उनी केही महिना अन्तरिम राष्ट्रपति पनि बने।
त्यसपछि भएको निर्वाचनमा उनी १.६ प्रतिशत मतको अन्तरले मात्रै विजयी भए। यद्यपि विपक्षी पार्टीले निर्वाचन परिणाम निष्पक्ष नभएको दाबी गरेको थियो।
तर सन् २०१८ को निर्वाचनमा मादुरो फराकिलो मतान्तरले निर्वाचित भए। विपक्षीले उक्त निर्वाचन पनि निष्पक्ष र स्वतन्त्र नभएको बताएको थियो।
शक्तिमा पुगेपछि उनीमाथि प्रजातन्त्रको अवमूल्यन गरेको र मानवाधिकार उल्लङ्घन गरेको आरोप लाग्यो।
मादुरोको शासनकाल सुरु भएयता देशको आर्थिक र राजनीतिक सङ्कटका कारण विगत एक दशकमा ७८ लाख मानिसहरूले देश छोडिसकेका छन्।
मतपरिणामले भेनेजुएलाबाट ठूलो सङ्ख्यामा मानिसहरू विदेश पलायन हुने क्रम फेरि बढ्ने चिन्ता उत्पन्न भएको छ।
एउटा सर्वेक्षणले मादुरोले चुनाव जितेको अवस्थामा ४४ प्रतिशत मानिसहरूले देश छोड्न चाहेको देखाएको छ।
तीमध्ये १८ प्रतिशतले यसै वर्ष देश छोड्न चाहेको बताएका छन्।