सिड्नी । अस्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्यु दर अझै पनि औसतभन्दा बढी भएको अनुसन्धानले देखाएको सोमबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ ।
विज्ञहरूले कोभिडको प्रभाव आगामी वर्षहरूमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका छन् ।
अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युटको अनुसन्धानले सन् २०२३ मा कोभिडले अनुमान गरिएकोभन्दा पाँच प्रतिशत बढी मानिसको मृत्यु भएको पत्ता लगाएको छ ।
अनुसन्धानबाट विज्ञहरूले कोभिडको कारणले मृत्यु हुने व्यक्तिको सङ्ख्या मापन गरी अतिरिक्त मृत्युदर अझै महामारीपूर्वको स्तरभन्दा बढी रहेको जनाएका हुन् ।
अनुसन्धानअनुसार मृत्युको नवौँ प्रमुख कारण रहेको कोभिडजन्य कारणबाट गत वर्ष करिब चार हजार ६०० जनाको मृत्यु भएको थियो ।
अनुसन्धान प्रतिवेदनमा कोभिडको नियमित उपचार तथा नियन्त्रण नगरिएको उल्लेख गर्दै कोभिडलाई उच्च मृत्यु दरको सम्भावित कारकका रूपमा उद्धृत गरिएको छ । विज्ञका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा अतिरिक्त मृत्युदर भने कम थियो ।
विस्तारै कोभिड–१९ लहरले हाल अघिल्लो लहरको तुलनामा कम मृत्यु भएको बताउँदै एक्च्युरी इन्स्टिच्युटकी प्रवक्ता करेन कटरले आगामी वर्षसम्म पनि कोभिड मृत्युको कारण बन्ने बताउनुभयो । (रासस/एएफपी)