दुबई । संयुक्त अरब एमिरेट्स नेपाली एकता समाजले युएईमा अनुशासनविहीन तत्त्वहरूले भेला आयोजना गरेको जानकारी दिएको छ । समाजबाट दुई वर्षपहिले नै निष्काशित अनुशासनविहीन तत्त्वले आगामी अगस्त ४ का दिन भेला आयोजना गरेपछि समाजले सो जानकारी दिएको हो ।
जुलाई २७, २०२४ का दिन सार्वजनिक गरिएको सोसम्बन्धी प्रेसवक्तव्यमा समाजका अध्यक्ष अर्जुनप्रसाद उपाध्याय, महासचिव खुमराज पौडेल र संस्थापकसमेत रहनुभएका वरिष्ठ सल्लाहकार कृष्ण भुसालको हस्ताक्षर रहेको छ ।
प्रेसवक्तव्यमा भनिएको छ– “सङ्गठनमा विभिन्न समयमा विभिन्न किसिमका उतारचढाव र अप्ठ्यारालाई चिर्दै आएको यस सङ्गठनलाई विगतमा युएई नेपाली एकता समाजको केन्द्रीय समितिभित्र बसी विभिन्न जालझेल रच्दै लगातार पार्टी र सङ्गठनप्रति विषवमन गर्ने अनुशासनविहीन व्यक्तिलाई युएई एकता समाजले कारबाही गरिसकेको र त्यसैको फलस्वरूप विक्षिप्त भएका निष्क्रिय व्यक्तिले नेपालमा सन्तबहादुर नेपाली नेतृत्वको (मशाल) र वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सँग पार्टीएकता गरेपश्चात् विदेशमा पनि नेपाली एकता समाजको नामबाट एकता वा भेला आयोजना गरेको देखिन्छ । विदेशस्थित प्रवासी मजदुरलाई भ्रममा पार्न नै हाम्रो सङ्गठनको नाम र झन्डा प्रयोग गरेका छन् ।”
प्रेसवक्तव्यमा शक्तमान बुढाथोकी अध्यक्ष रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजअन्तर्गत युएईमा अर्जुनप्रसाद उपाध्याय अध्यक्ष र खुमराज पौडेल महासचिव रहेको एकता समाज नै आधिकारिक रहेकोसमेत स्पष्ट पारिएको छ ।