काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को आज (शुक्रबार) भव्य उद्घाटन हुँदै छ।
‘गेम्स् वाइड ओपन’ नाराका साथ फ्रान्सको राजधानी पेरिसमा हुने ओलम्पिकको उद्घाटन फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गर्नेछन् ।
उद्घाटन नेपाली समयअनुसार राति ११ बजेपछि सुरु हुनेछ।
पेरिस ओलम्पिकमा नेपालको झण्डा टेवन टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनीता प्रधानले बोक्नेछन्।
स्यान्टु घरेलु मैदानमा भएको दक्षिण एसियाली छनोट चरणमा स्वर्ण पदक जित्दै पेरिस ओलम्पिकका लागि छनोट भएका हुन्। मनिता भने एसियाली कोटाबाट छनोट भएकी हुन्।
सय वर्षमा पहिलोपटक फ्रान्सले ग्रिष्मकालीन खेल आयोजना गरेको हो।
उद्घाटन समारोहमा सेलिन डियोन र लेडी गागाले प्रस्तुति दिनेछन्। समारोहका कलात्मक निर्देशक थोमस जोलीका अनुसार उद्घाटन समारोहमा फ्रान्सको विविधता देखाइनेछ।
पेरिस ओलम्पिक लैङ्गिक समानता हासिल गर्ने पहिलो अोलम्पिक हो। जहाँ ५ हजार २५० महिला र ५ हजार २५० पुरुष खेलाडीले स्पर्धा गर्नेछन्।
पेरिस ओलम्पिकको औपचारिक उद्घाटनअघि नै खेल भने सुरु भइसकेका छन्।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ओलम्पिकका लागि देश तथा आफूहरू तयार रहेको बताएका छन्।
तर केही पेरिसवासीले सामाजिक सञ्जालमार्फत भीडभाड, मुद्रास्फ्रीति र सहर वरपर पुग्न कठिनाइ हुने चेतावनी दिइरहेका छन्।
सुरक्षाका लागि गस्तीमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी तथा भाडाका सुरक्षागार्ड परिचालन गरिएको छ।
सेन(पेरिसको बीचबाट बग्ने नदी उद्घाटन समारोहका लागि बन्द गरिएको छ। त्यहाँ मानिसलाई निश्चित क्षेत्रमा पुग्न क्युआर कोड चाहिने व्यवस्था गरिएको छ।
पेरिस ओलम्पिक आयोजना गर्न झन्डै ९ अर्ब युरो खर्च हुने अनुमान आयोजकले गरेको छ।

