काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काटेका ६ वटै उद्योगमा लाइन जडान गरेको छ। मंगलबार बसेको बोर्ड बैठकको निर्णयपछि बिजुली जडान भएको हो ।
बैठकमा सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए । यसअघि सोमबार बसेको सञ्चालक समिति बैठक निष्कर्षविहीन भएको थियो।
प्राधिकरणले असार २५ र २७ गते रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटिदिएको थियो।
सोसँगै यही साउन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई तत्काल काटिएका उद्योगको बिजुली जोड्न निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको निर्देशनलगत्तै बसेको सञ्चालक समितिको बैठकले लिखित निर्देशन नआएको भन्दै लाइन जोड्न नमानेपछि आइतबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई उद्योगको लाइन जोड्न पत्र पठाएको थियो।
आइतबार संसदमा समेत प्रधानमन्त्री ओलीले बिजुली तत्काल जोडेर समस्याको समाधान गर्नुपर्ने बताएका थिए। प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि उद्योगीसँग प्राधिकरणले बिना प्रमाण महशुल तिराउन नसक्ने बताउँदै आएका छन्।
उद्योगी र प्राधिकरणबीच लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली उपभोग गरेको शुल्कबारे विवाद हुँदै आएको छ।