सुवास जिसी
सहिद क. मित्रमणी आचार्यको २०४२ साल वैशाख १८ गते चितवनको मेघौलिमा तत्कालीन कांग्रेस र पञ्चहरुको गठवन्धनद्वारा हत्या गरिएको थियो । उहाँको हत्या भएको अहिले ३६ वर्ष भैइसकेको छ । क. मित्रमणी हाम्रो सामु हुनुहुन्न, तरपनि उहाँले बोकेको क्रान्तिकारी दर्शन, विचार, आदर्श र जीवन आज पनि हाम्रो सामु छ । सहिद क. मित्रमणीले गर्नुभएको उच्च प्रकारको वलिदानलाई अखिल (छैठौं) र सम्पुर्ण देशभक्त क्रान्तिकारी नेपालीहरुको तर्फबाट हार्दिक अभिनन्दन व्यक्त गर्दछ र उहाँप्रती श्रद्धाञ्जली अर्पण गर्दछ ।
मित्रमणी आचार्यको जन्म वि.स. २०१९ साल असार ११ गते प्युठान जिल्लाको तत्कालीन रम्दी गाविस वडा न. २ तिघ्रामा भएको थियो । उहाँ सानै देखि इमान्दार तर लडाकु प्रकारको हुनुहुन्थ्यो । उहाँले २०२६ साल देखि तिघ्रा प्रावि, निमावि खैरा र मावि रातामाटामा अध्ययन गर्नुभएको थियो । उहाँले एसएलसी गरेपछि पक्लिहवा क्याम्पसमा कृषि विषय अध्ययन गर्न भर्ना हुनुभयो । त्यहीँबाट नै उहाँको राजनैतिक जीवनको समेत सुरुवात भयो ।
उहाँ त्यहाँको तत्कालीन अखिलको इकाई समिती सदस्य हुनुभयो । २०३८ सालमा रुपन्देही जिल्लाको सचिव हुनुभयो भने त्यही वर्ष पक्लिहवा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिमा विजयी हुनुभयो । उहाँ २०४० सालमा अखिलको आठौं केन्द्रीय समितिको सदस्य हुनुभयो । पक्लिहवाको अध्ययन सकेपछि उहाँ ब्याचलर पढ्न कृषि क्याम्पस भरतपुर आउनुभयो । २०४१ सालमा कृषि क्याम्पसमा प्रगतिशील प्यानलवाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी हुनुभयो ।
त्यतिबेला कांग्रेस र मन्डलेहरुको केन्द्र रहेको चितवन मित्रमणी र उहाँ जस्तै सहासी योद्धाहरुको कारण प्रगतिशील र वामपन्थीहरुको प्रभाव बढेको थियो । चितवनका क्याम्पसमा अखिलले विजयी प्राप्त गरेको थियो भने जनमासमा अखिलको प्रभाव बढ्दो थियो । जसका कारण कांग्रैसी गुन्डा र मन्डलेहरु अखिल र मित्रमणीहरुबाट त्रसित बनेका थिए । स्ववियु निर्वाचनमा अखिल विरुद्ध उनीहरुले मोर्चाबन्दी गरेका थिए । तर अखिलले निर्वाचन जितेपछि त्यसवाट रुष्ट भएका गुन्डा र मन्डललेहरुले मित्रमणीको हत्या गर्ने योजना बनाए । तत्कालीन क्याम्पस प्रशासन र स्थानीय प्रशासन अखिल विरुद्ध थियो । तिनीहरु सबैले गुन्डा र मन्डलेका हर्कतलाई संरक्षण गर्दथे भने अखिलका साथीहरूलाई विभिन्न आरोप लगाएर चौकिमा थुन्ने र मुद्दा लगाउने गर्दथे । यसरी क्याम्पस प्रशासन र स्थानीय प्रशासनले कांग्रेसका गुन्डा र मण्डलेका अपराधहरुलाई संरक्षण गर्दै प्रोत्साहन गर्दथ्यो ।
२०४२ साल वैशाख १८ गते मेघौली माविमा अभिभावक भेला थियो । त्यहाँ एकजना विद्यार्थीलाई निष्कासन र विद्यार्थीलाई कुटपिट गरिएको विषयमा छलफल गर्न भेला बोलाईएको थियो । संगठनको काममा अहोरात्र खटिरहनुभएका मित्रमणी आचार्य पनि त्यस दिन संगठनकै कामको शिलशिलामा मेघौली आईपुग्नु भएको थियो । उहाँको हत्याको योजना पहिले देखि नै गुन्डाहरुले गरेका थिए । त्यसदिन संगठनका दुई जना साथीहरूसँगै उहाँ मेघौली मावि जान थाल्नु भयो । उहाँ त्यहाँ आएको सुचना पाएर झण्डै ५०÷६० जना कांग्रेसी र मन्डले गुन्डाहरु भाला र खुकुरी सहित भेला भैइसकेका रहेछन् । मित्रमणी र उहाँका साथीहरू स्कुलमा नपुग्दै उहाँमाथी आक्रमण भयो । मित्रमणी बाँच्नको लागि नजिकैको एउटा थारु किसानको घरमा पस्नु भयो । तर गुन्डाहरुले घरको ढोका फोडि भित्र प्रवेश गरेर मित्रमणीमाथि निर्घात खुकुरी प्रहार गरे ।
होहल्ला मच्चेपछी स्थानीय किसानहरु त्यहाँ जुटे । मित्रमणीलाई मर्यो भनी गुन्डाहरुले खाडलमा फाले र भागे । रक्ताम्मे अवस्थाका साथीहरूलाई किसानहरुले बोकेर भरतपुर अस्पतालमा पुराए । तर राती २ बजे अत्याधिक रक्तस्राव भएका कारण मित्रमणी आचार्यको निधन भयो । उहाँले सदाको लागि यो संसार त्याग्नु भयो । अर्को दिन हजारौं मानिसहरु चितवनमा भेला भए र उहाँको अन्तिम श्रद्धाञ्जलीमा समावेश भए । उहाँको श्रद्धाञ्जलीमा यति धेरै मानिस भेला भए कि उहाँको विद्यार्थी र जनताको विचमा कति धेरै प्रभाव थियो भन्ने स्पष्ट भयो । यसरी एउटा क्रान्तिकारी विद्यार्थी आन्दोलनको सशक्त नेतृत्वलाई कांग्रेस र मन्डलेहरुको अपराधिक झुन्डले हत्या गर्यो । अपराधमा संलग्न हत्याराहरुलाई प्रहरी प्रशासनले चिनेर पनि बचाउ गर्यो । तत्कालीन क्याम्पस प्रशासन, स्थानीय प्रशासन र गुन्डाहरुको मिलेमतोमा एउटा समाज परिवर्तनको उज्ज्वल नक्षेत्रको अवसान भयो ।
उहाँले तत्कालीन सामन्ती पन्चायती व्यवस्थाको अन्त्यको लागि बोल्दै गर्दा आफ्नो जीवनको आहुती दिनुभयो । उहाँ र उहाँ जस्तै वीर सहिदहरुले रगतसँग साटेर नै देशमा अधिनायकवादी पन्चायती व्यवस्थाको अन्त्य भयो र बहुदलीय व्यवस्थाको स्थापना भयो । आफ्नो जीवनको अन्त्यसम्म पनि मित्रमणीले जनता र विद्यार्थीको अधिकारको लागि लड्नु भयो । वास्तवमा मित्रमणी हाम्रो लागि ठूलो प्रेरणाको स्रोत हुनुहुन्छ । कहिलेकाहीं संगठन र राजनीति प्रती हरेस लाग्दा, मित्रमणीको सम्झनाले शरीरमा बेग्लै रक्त सञ्चार भएको महसुस हुन्छ । उहाँको जीवन पढ्दा जोस, जाँगर र परिवर्तनको लागि लड्न नयाँ शक्ति जागृत भएर आउँछ ।
देश र समग्र विश्व कोरोनासँग लडिरहेको कारण आज सहिद मित्रमणीको स्मृतिमा हरेक वर्ष जस्तै स्मृति भेला गर्न सकेनौं । भेला गर्न नसकेपनि उहाँको सम्झना गरेका छौं र गरिरहने छौं । अखिल (छैठौं)ले प्युठानको विजुवारमा उहाँको सालिक बनाएको छ, रामपुर कृषि क्याम्पसमा पनि उहाँको सालिक छ, हरेक वर्ष ती ठाउँहरुमा उहाँको स्मृति कार्यक्रम हुने गर्दछन् । प्युठानमा एउटा सडकको नाम नै ‘मित्रमणी सडक’ नामाकरण गरिएको छ ।
सहिद कमरेड मित्रमणी हाम्रो सामु हुनुहुन्न । तर उहाँले बोकेको विचार आज पनि हामीसँग जीवित छ । अहिले देशमा गणतन्त्र आएको छ । जननिर्वाचित प्रतिनिधिहरुले बनाएको संविधान छ । तर देशमा इमानको राजनीति छैन, बेइमानीहरुको हातमा शासन सत्ता छ । पद, सत्ता, शक्ति र सम्पत्तिको लागि नेताहरु मरिहत्ते गर्छन् । यो स्थितिमा पनि हामीले सहिद मित्रमणीको विचारलाई बोकेर हिड्ने प्रयास गरिरहेका छौं , गरिरहने छौं ।
(लेखक अखिल (छैठौं) का केन्द्रीय सचिव हुनुहुन्छ)