काठमाडौँ । यही असार २८ गतेदेखि नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता दुई यात्रुवाहक बस खोज्ने क्रम जारी छ ।
दुर्घटना भएको दिनदेखि दैनिक खोजी भइरहेको भए पनि यात्रुसहित नदीमा हराइरहेका ती २ बस अझै फेला पर्न सकेका छैनन्।
नारायणी नदीमा शनिबार भेटिएका तीनवटा शवको भने परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ ।
गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ । मृतकका दाजु विजय परियारले शवको सनाखत गरेका हुन् ।
वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बसमा उनी भरतपुरबाट चढेका थिए । मृतक विकासको शव नजिकै फेला परेको अर्को शव पनि सिमलताल घटनामा बेपत्ता भएका यात्रुकै भएको पुष्टि भएको छ । उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको भएको प्रवक्ता रिजालले बताए ।
गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह भएको पुष्टि भएको छ । मृतकका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेका प्रहरी जनाएको छ । दुई शव शनिबार नै आफन्तले लगेका छन् ।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस असार २८ गते बिहान चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो जाँदा त्रिशूलीमा खसेका हुन्।
काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ।
तीमध्ये शनिबार तीनवटा शव फेला परेका हुन्। बाँकी यात्रु तथा बसको खोजी आज तेस्रो दिन पनि जारी राखिएको छ।
शनिबारदेखि पानीभित्रका वस्तु पनि देख्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्स्पेक्सन सिस्टम आदिको समेत प्रयोग भइरहेको छ। खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संलग्न छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले आज सशस्त्र प्रहरी बल नेपालका तर्फबाट ९० जना परिचालन गरिएको जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी गर्ने उनले बताए।
त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसको प्रयोग गरी घटनास्थलदेखि १ किलोमिटर तल तथा भरतपुर महानगरपालिका–१६स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म खोजी गर्नेछ।
त्यसैगरी नम्बर १७ गण चितवनबाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित ४५ जना घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीमा खटिनेछन्।
निरन्तर वर्षाका कारण नदीमा धमिलो पानी आउँदा सोनार क्यामरा र अन्य डिभाइसले समेत बेपत्ताहरूको खोजी असहज भइरहेको छ।