काठमाडौं । बागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको निधन भएको छ । आगलागीबाट घाइते भएका खनालको काठमाडौंमा उपचारका क्रममा बुधबार दिउँसो निधन भएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो ।
खनालको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको र पोष्टमार्टम पछि काठमाडौंमै दाह संस्कार गर्ने वा गाउँ ल्याउने बारे निर्णय हुने अध्यक्ष पौडेलले गुगदर्शनलाई बताउनुभयो ।
वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउॅपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको उनको घरमा आगलागी हुँदा खनालका कान्छा छोरा समिर खनालको मृत्यु भएको थियो । घाईते खनाल र उनकी श्रीमती रुपा खनाललाई उपचारका लागि तत्कालै पाल्पा अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि भोलिपल्ट विहान किर्तिपुरको फायर अस्पतालमा लगिएको थियो । दुवैको सोही अस्पतालमा उपचार भइरहेको थियो । अहिले श्रीमती रुपाको अवस्था सामान्य छ । स्थानीय निर्वाचनमा खनाल तत्कालिन नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।
यो पनि
वडाअध्यक्षको घरमा आगलागी, छोराको मृत्यु