• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जीवन रुपान्तरणका लागि योग


  •   शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
  • डा. राजृु अधिकारी
    युवावृद्धोऽतिवृद्धो वा व्याधितो दुर्बलोऽपि वा ।
    अभ्यासात्सिद्धिमाप्नोति सर्वयोगेष्वन्द्रितः ।।
    हठयोग प्रदीपिका ।

    Advertisement

    अर्थात् युवा, वृद्ध, अतिवृद्ध, रोगी, दुर्बल जोसुकैले पनि योगाभ्यास गरेर सफलता (सिद्धि) प्राप्त गर्न सक्दछ । हो, योगको अन्तिम लक्ष्य सिद्धि प्राप्त गर्नु हो । तर धनसिद्धि र नामसिद्धि प्राप्त गर्ने होड चलेको आजको युगमा मान्छेसँग योगसिद्धि प्राप्त गर्ने समय छैन । तर पनि आफ्नो व्यस्त दिनचर्याबाट अलिकति समय निकालेर योग–योगाभ्यास गर्यो भने आरोग्य सिद्धि प्राप्त गर्न निश्चित रूपले मद्दत पुग्छ ।

    आजको मानिस व्यस्त छ । व्यस्त हुनु उसको बाध्यता हो । बाध्यताभित्र लुकेको विडम्बना चाहिँ के हो भने मानिस व्यस्त मात्र होइन, ग्रस्त, त्रस्त र ध्वस्तसमेत हुँदैछ । अर्थात् कि रोगले ग्रस्त, तनावले त्रस्त र अनैतिकताले ध्वस्त । यी सबै सङ्कट र तापहरूको रामवाण औषधि भनेको नै योग हो । त्यसैले त भनिएको छ, ‘भवतापेन तप्तानां योगो हि परमौषधम्’ । याने कि निश्चय नै योग अचेलका नानाविधि ताप–सन्तापहरूको जडी औषधि हो ।

    यही योगरुपी अमृततुल्य औषधिलाई आत्मसात् गर्ने, यसमाथि चिन्तन मनन गर्ने र यसको यथोचित प्रचारप्रसार गर्ने पर्वको नाम हो अन्तर्राष्ट्रिय योग दिवस । विश्वका २०० अधिक देशहरूमा एकसाथ मनाइने एकमात्र उत्सव हो यो योग दिवस । योग दिवस मनाउने क्रममा सुरुसुरुमा केही मतभेद, विवाद र विरोधहरू सुनिन्थे तर आज आएर योग विज्ञानप्रति कुनै पनि विवाद र विरोध सुनिँदैन । यसलाई एउटा आत्म उत्कर्षको विज्ञान, सार्वभौम चिकित्सा पद्धति र प्राकृतिक जीवनशैलीको रूपमा निशर्त स्वीकारिएको पाइन्छ ।

    हामी नेपालीका लागि यो महान् गौरवको विषय हो किनकी योगको उद्गम भूमि यही नेपाल हो । हाम्रै पूर्वज ऋषि महर्षिहरूले योगको आविष्कार गरेका हुन् । योगसँगै उनीहरूले आयुर्वेद, वेद, ज्ञान, साधना र अध्यात्म विज्ञानको पनि आविष्कार गरेका थिए । जुन आज विश्वभरि प्रचारित र प्रसारित भइरहेको छ ।

    विविधतापूर्ण योग विज्ञान
    आमधारणा जस्तै योग आधा–एक घण्टामा गर्ने व्यायाम कसरत मात्र हैन, यो प्रतिपल, प्रतिक्षण र सास सासमा चलिरहने प्रक्रिया हो । महर्षि अरविन्दले भन्नुभएको छ, ‘प्रत्येक श्वास योग साधना हो ।’ व्यवहारिक परिप्रेक्ष्यमा योग जीवन जिउने कला हो । योग विज्ञानका अध्येताहरूको अनुभवअनुसार योग समग्र जीवन पद्धति हो, सर्वाङ्गीण जीवनदर्शन हो । अध्यात्म वैज्ञानिकहरूको दृष्टिकोणमा योग सबै विज्ञानभन्दा माथि चेतनाको महाविज्ञान हो । ऋषिमहर्षि सूक्ष्म द्रष्टाहरूको भनाइमा योग समाधिको यात्रा हो । महर्षि पतञ्जलि भन्छन्, ‘मन (चित्त) का वृत्तिहरूको यथोचित निरोध नै योग हो ।’

    यी विभिन्न अभिमतहरूमध्ये तपाईंलाई जुन तर्क अधिक मन पर्छ, त्यसलाई सहर्ष स्वीकार्न सक्नुहुनेछ । व्यक्तिपिच्छे रुचि, क्षमता, कर्म र संस्कारको स्तर भिन्न हुने गर्छ । कुनै व्यक्ति तर्कशील र बौद्धिक हुन्छ भने कुनै व्यक्ति भावनाशील र भक्तिवान हुन्छ । जसमा जुन किसिमको क्षमता र अभिरुचि हुन्छ सोहीअनुरूप ऊ योगमार्गको चयन गर्न सक्दछ । त्यसैले गर्दा योग–आविष्कारहरूले अनेकौँ प्रकारका योग प्रणालीको प्रवर्तन गरेका छन् । पृथकपृथक प्रकारका योग पद्धतिहरू खास गरी विविधताले भरिएका जिज्ञासुहरूको सुविधामाथि ध्यान राखेर विकसित भएको हुनुपर्छ ।

    प्रचलित प्रमुख योग प्रणाली यस प्रकार छन्– कर्मयोग, ज्ञानयोग, राजयोग, अष्टाङ्ग योग, भक्तियोग, मन्त्रयोग, हठयोग, क्रियायोग, नादयोग, प्राणयोग, ध्यानयोग । आजभोलि योगको नाममा जुन आसन, प्राणायाम र केही मुद्राबन्धको प्रयोग गरिन्छ, त्यो हठयोगको एउटा सानो अंश मात्र हो । समग्रतामा योग अत्यन्तै व्यापक, असीम र वैविध्यपूर्ण छ । यसर्थ योग गर्नलाई कसैलाई कुनै पनि कुराले र कहिल्यै पनि छेक्दैन । जहिले पनि जहाँ पनि, जुनसुकै परिस्थितिमा पनि योग गर्न सकिन्छ ।

    शरीर रहुञ्जेल हाम्रो शरीर कुनै न कुनै आसनमा अवस्थित हुने गर्दछ । आसन बिना शरीर अस्तित्वमै रहँदैन । हरघडी शरीरको अवस्था, दशा, लयबद्धताप्रति सजग हुनु नै आसनाभ्यास हो । प्रत्येक मिनेट १६–१७ पटक लिने छाड्ने श्वासप्रश्वासलाई परिष्कृत गर्नु प्राणायाम हो । यसरी जीवनका प्रत्येक आयाममा उत्कृष्टता, विशुद्धता र दिव्यता थप्दै जानलाई केले छेक्ने ? स्मरण रहोस्, शरीर र मनको उपलब्धता नै योगको प्रयोगशाला हो । पट्टाभि जोइस भन्छन्, ‘जो यसलाई चाहन्छ योग हरेकका लागि सम्भव छ । योग एक ब्रह्माण्डीय विषय हो तर यसलाई व्यापारिक उद्देश्य र सांसारिक कमाइको उद्देश्यले प्रयोग गर्ने भुल नगर ।’

    योग नगरे गुम्छन् यी फाइदा
    शारीरिक– ओजस्वी शरीर, आरोग्यवान् एवं स्वस्थ शरीर, तन्दुरुस्त एवं सुगठित काया, कर्मसामर्थ्यले युक्त तन, तेजोमय मुखमण्डल, स्फूर्तिवान् व्यक्तित्व, भरिपूर्ण जीवनीशक्ति, दुःखकष्ट तथा घामपानी सहन सक्ने ज्यान ।

    प्राणिक–प्राण सम्पन्न व्यक्तित्व, आँखामा तेज, त्वचामा चमक, प्रबल रोग प्रतिरोधी क्षमता, जाडो–गर्मी जुनसुकै स्थानमा अनुकूलित हुन सक्ने, उन्नत एवं सुविस्तृत आभा मण्डल भएको ।

    मानसिक– तीक्ष्ण (बौद्धिक क्षमता), एकाग्रता क्षमता, स्मृति क्षमता, बोध क्षमता, ग्रहण क्षमता, धारणा क्षमता, ध्यान क्षमताजस्ता मानसिक क्षमताले युक्त । सिर्जनात्मकता, रचनात्मकता, मनस्वीता, अन्तज्र्ञान, भाषिक चातुर्यता, भेद चातुर्यता, निर्णयशीलता, लक्ष्यशीलता, नेतृत्वक्षमता, प्रबन्धक्षमता, कलाकौशल आदि कसौटीमा प्रखर ।

    नैतिक–नीतिवान्, सदाचारी, सत्यनिष्ठ, अहिंसावादी, एमआईअर्थात् मोरल इन्टेलिजेन्स सम्पन्न, विश्वसनीय, अपरिग्रही (अनावश्यक सम्पत्ति नथुपार्ने), समाजनिष्ठ, सामुहिकता एवं सहकारिताको गुणयुक्त, सहअस्तित्वप्रेमी, प्रकृतिप्रेमी, पर्यावरणप्रेमी, आदर्शवान् ।

    आध्यात्मिक– हृदयवान्, भावनाशील, परानुभूतियुक्त, कर्मशील, कर्मफल विधानको अनुयायी, संस्कारवान्, सङ्कल्पशील, ईश्वरानुरायी, आसक्तिविहीन, न्यायप्रेमी, सर्वप्रिय, प्रेमवान्, दिव्य गुणहरूले युक्त ।

    योगको क्षेत्रमा धमाका
    अहिलेको पुस्ता क्रमशः दुर्बल र लक्ष्यहीन हुँदै गइरहेको छ । अहिलेको युगलाई तनाव र डिप्रेसनको युग पनि भन्न थालिएको छ । धनसम्पत्ति र पदप्रतिष्ठाको स्वामी भएकै कारण आजको मान्छे आफूलाई बलवान ठान्ने गर्छ । जबकि उसको स्वामित्वमा रहेको वस्तु हटाइदिने हो भने शरीरबल, मनोबल र आत्मबल नितान्त क्षीण हुँदै गएको अवस्था छ । यस परिपे्रक्ष्यमा अब योगबाहेक अर्को समाधानै देखिँदैन उसको मानसिक नपुंसकता र दुर्वलतालाई निवारण गर्ने । योगमा केवल विरासन र सिंहासन मात्रै गरिँदैन । यसले वीर र सिहंस्वरूप समेत बन्न सिकाउँछ । अन्यथा योगमा निहीत बलप्रदायक विशेषताको वर्णन योग गुरु अमित राय किन यसरी गर्नुहुन्थ्यो, ‘योग केवल केही आसनहरूको पुनरावृत्ति होइन, यो त्यो विद्या हो, जसले हामीभित्र विद्यमान सुक्ष्म ऊर्जा भण्डार खोज्ने र प्रष्फुटित गर्ने काम गर्दछ ।’

    धेरैजसो मानिस आज धन र सविधा बटुल्ने अन्तहीन दौडानमा छन् । मान्छेलाई न चैन छ न विश्राम गर्ने समय । आवश्यकता र विलासिताको साधन कमाउने दौडमा जब मान्छे थाक्दछ, वाक्कदिक्क हुन्छ, उसलाई अन्ततः योगको छहारी याद आउँछ । ऊ आउने आखिर योगकै शरणमा हो । चाहे त्यो कालो होस् चाहे गोरो, चाहे त्यो सनातनी होस् चाहे गैरसनातनी, चाहे त्यो साम्यवादी होस् चाहे अरू कुनै वादी । हाम्रा अन्वेषक पूर्वजहरूले प्रवर्तन गरेको योग, हामी तिनैका सन्ततिहरू भएर पनि योग त्यतिसारो गर्दैनौँ । हाम्रो पूर्वीय इतिहाससँग कुनै तालुक नभएका पश्चिमाहरू अहिले योगको क्षेत्रमा धमाका गरिरहेका छन् । के यो योगबलको प्रभाव हैन ?

    तपाईँ हामीमध्ये कतिपयको योग सुरु गरौँला भन्दाभन्दै वर्षौं बितेर गएको छ । ती पश्चिमाहरू भने ‘योग गरौँ आजैदेखि’ भन्ने नारा बोकेर दिनैपिच्छे लाखौँ मान्छेलाई योगसँग जोडिरहेका छन् । जहाँजहाँ योग विषयक उत्सव, महोत्सव, कार्यशाला र कुम्भमेला हुने गर्छ गोरो छाला भएकाको सङ्ख्या ठूलो हुने गर्दछ । यसैले उनीहरू भौतिकताको बिलासिताबाट अघाएर अब योगसाधनाको मार्ग खोजिरहेका छन् ।

    संयुक्त राज्य अमेरिकामा मात्रै योग क्षेत्रमा करोडौँ डलरको कारोबार भइरहेको छ । अमेरिकामा एक लाख बढी दर्तावाल योग शिक्षक कार्यरत छन् । महँगा सहरहरूमा महँगा किसिमका योगा स्टुडियो, लाइफस्टाइल क्लिनिक, योगा पार्लर, योगा सेनिटोरियम र योगा क्लबहरू धमाधम खुलिरहेका छन् । योगबलका बारेमा यसरी बहुआयामिक व्याख्या गर्नुको उद्देश्य यो आलेख पढ्दै गर्ने तपाईँलाई योगशैलीको पारखी बन्न प्रेरित गर्नु हो । योग गर्न कुनै थप योग्यता चाहिँदैन र तपाईँ नै यसको उत्कृष्ट पात्र हुनुहुन्छ ।

    आफैँ रोजौँ उत्तम योगपथ
    ‘योग’ को विषयलाई आज कतिपय योग गुरुले धेरै जटिल बनाइदिएका छन् । आम जनधारणा कस्तो छ भने योग भनेको रोग लागेपछि गर्ने, सेवानिवृत्त भएपछि गर्ने या काम नभएकाले गर्ने भन्ने परेको छ । अर्कोतिर भेषधारी, वैरागी, गृहत्यागी, जटाधारी, अकर्मण्यहरूले हिँड्ने बाटो हो भन्ने पनि छ । यस्ता भ्रान्तिहरुका बीच एउटा योगानुरागी तप्का चाहिँ हठयोगप्रधान आसन प्राणायाम चाहिँ हामीले पनि गर्न हुने रहेछ भनेर त्यसमा लागिरहेको छ । आधुनिक भोगवादी पुस्ताको बहसङ्ख्यक मान्छे योगलाई अझै पनि जीवनको गैरविषयवस्तु सम्झन्छ । जबकि योग सबैका लागि र प्रत्येक मनुष्यका लागि हो । मनुष्य चोलामा जन्म लिनु नै योगको सार्वभौमिक योग्यता हो ।

    युगऋषि आचार्य श्रीराम शर्माले भनेका छन्, ‘यस्तो सुगम मार्गलाई पनि आज मान्छेले दुर्गम मानेर बसेका छन् । योग गर्नलाई ‘मन’ भए पुग्छ । मनमा तत्परता र तन्मयता छ भने योग जसले पनि गर्न सक्छ । यो कुनै पनि हालतमा कठिन छैन । आफ्नै हातको खेल हो । तर साहस र श्रद्धा चाहिँ चाहिन्छ ।’

    योगबाट हरेक व्यक्ति लाभान्वित हुनसक्छ । पेसा, काम, जातजाति, लिङ्ग, धर्म र भाषाले रोक्दैन । तपाईँ आफ्नो व्यक्तित्व, अभिरुचि, आन्तरिक संस्कार र क्षमताअनुसार जुन योगपथ रुचाउनु हुन्छ, त्यसमा अग्रसर हुनुहोस् तर आजैबाट । यसै पनि यस वर्षको नारा पनि ‘योगा फर सेल्फ एण्ड सोसाइटी’ अर्थात् स्व र स्व–समाजका लागि योग रहेको छ । यस किसिमको नाराका साथ दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा बालज्ञानी गुरु आदित्य नामले सुपरिचित योगी चैतन्य आदित्यनाथको यो कथनलाई एकपटक हृदङ्गम गरौँ, ‘योग, ध्यान, साधना बिनाको सुखद् जीवन नियाल्दैछौँ भने आँखा भए पनि तिमी अन्धो हौँ, सबै अङ्गमा चेतना भए पनि तिमी लुलो हौँ ।’

    (लेखक मानव चेतना एवं योग विज्ञानका प्रशिक्षक हुन् ।)

    शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    डा. केसीलाई अनशलस्थल छाड्न पत्र पठाइयो
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.