रियाद । यस वर्षको हजबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको एएफपीले बिहीबार जनाएको छ ।
हजयात्रामा मृत्यु हुनेको बिहीबार प्रकाशित नयाँ प्रतिवेदनअनुसार इजिप्टका ५८ जना रहेको अरबका एक कूटनीतिज्ञले बताउनुभएको हो ।
उहाँले मृत्यु हुने कुल छ सय ५८ जनामा छ सय ३० दर्ता नगरिएका तीर्थयात्री रहेको बताउनुभयो । साउदी अरबमा चरम गर्मीका कारण मृत्यु हुनेमध्ये आधाभन्दा बढी दर्ता नभएका तीर्थयात्री रहेका थिए ।
हज तीर्थयात्राको क्रममा लगभग १० देशका एक हजार ८१ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । इस्लामिक क्यालेन्डरद्वारा निर्धारित समयमा गरिने हज यस वर्ष साउदीको प्रचण्ड गर्मीको समयमा परेको हो ।
राष्ट्रिय मौसम विज्ञान केन्द्रले यस हप्ताको सुरुमा मक्काको ग्रान्ड मस्जिदमा ५१ दशमलव आठ डिग्री सेल्सियसको उच्च तापक्रम रिपोर्ट गरेको थियो । गत महिना प्रकाशित साउदीको एक अध्ययनअनुसार यस क्षेत्रको तापक्रम प्रत्येक दशकमा शून्य दशमलव चार डिग्री सेल्सियसले बढिरहेको छ ।
प्रत्येक वर्ष हजारौँ तीर्थयात्रीले आधिकारिक अनुमतिको महङ्गो शुल्क तिर्न नसक्दा अनियमित माध्यममार्फत हज गर्ने प्रयास गर्छन् । साउदीका अधिकारीहरूका अनुसार यस महिनाको सुरुमा मक्काबाट थुप्रै दर्ता नभएका तीर्थयात्रीलाई फिर्ता गरेको भए पनि धेरैले गत शुक्रबार सुरु भएको मुख्य संस्कारमा बिनादर्ता भाग लिएको देखिन्छ ।
अधिकारीहरूले आधिकारिक अनुमतिबिना प्रवेश गर्नेको सङ्ख्या धेरै भएपछि तीर्थयात्रीको व्यवस्थापन गर्न नसक्दा यस वर्ष गर्मीको जोखिम बढी भएको बताएका छन् । इजिप्टका कूटनीतिज्ञले अत्यधिक गर्मीका कारण उच्च रक्तचाप र अन्य समस्याबाट तीर्थयात्रीको मृत्यु भएको बताएका छन् ।
इजिप्टबाहेक मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकको स्वायत्त कुर्दिस्तानले पनि आफ्नो नागरिकको मृत्यु रिपोर्ट गरेको छ ।
मृतकका परिवार र आफन्तहरूले अझै बेपत्ता भएका तीर्थयात्रीको खोजी गरिरहेका छन् । (रासस/एएफपी)