काठमाडौँ । यसवर्ष गतवर्षहरू भन्दा अत्यधिक वर्षा हुने मौसमविदहरूले चेतावनी दिएका छन् ।
बर्खायाम सुरु गराउने मौसम प्रणाली ‘मनसुन’ सिक्किम आइपुगेको र ‘केही दिन’भित्र पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यस वर्षको मनसुन भारतको उत्तर-पूर्व, बंगलादेश, भुटान हुँदै आज सिक्किमसम्म आइपुगेको हो।
नेपालको कोसी प्रदेशबाट अबको १० देखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ।
जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने बताए।
मनसुनजन्य विपद्बाट बच्न पूर्वतयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको भन्दै विज्ञहरुले सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका छन्।
उनले यसवर्ष अत्याधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाइ तयारीमा जुट्न आग्रह गरे।
राज्यले कुनकुन ठाउँमा कस्तो आपत्कालीन पूर्वतयारी गर्ने भन्नेबारेमा समयमै ध्यान दिनुपर्नेमा जोड दिए।
डा. उप्रेतीले राहत र उद्धारको लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्नहरुको संकलन गरी भण्डारण गर्न आवश्यक भइसकेको बताए।
उनले गृह मन्त्रालय, आपत्कालिन अवस्थामा खटिने सुरक्षा निकाय, स्वयंसेवक, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभाग र प्रदेश एवं स्थानीय सरकारले आजैबाट विपद्पूर्व तयारीका काम गर्न र तयारीमा जनशक्ति परिचालन गर्न आग्रह गरे।
विज्ञ उप्रेतीले मनसुन अबको १० देखि १२ दिनमा नेपालको पूर्वी भाग र १५ देखि २० दिनमा देशभर नै सक्रिय हुने भएकाले आम नागरिकले पनि शतर्कता अपनाउन जरुरी रहेको उल्लेख गरे। जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगतको तुलनामा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। सोही अनुसार सरकारलाई पूर्वतयारीमा जुट्न विज्ञहरुले सुझाव दिएका छन्।
यता विपद् पूर्वतयारीमा जुट्न नेपाल रेडक्रस सोसाइटीले ७७ वटै जिल्लाका निकायहरुलाई निर्देशन दिएको बताएको छ। मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई कम गर्न नेपाल रेडक्रस सोसाइटीले पूर्वतयारीको काम थाल्न ७७ वटै जिल्लाका निकायहरुलाई निर्देशन दिएको हो।
नेपाल रेडक्रसले जनशक्ति, आर्थिक श्रोतको सुनिश्चितता र आवश्यक सामग्रीहरुको जोहो गरी सातै प्रदेश र ७७ वटै जिल्लामा पूर्वतयारीमा खट्न आग्रह गरेको छ।
रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले वर्षभर हुनसक्ने विपद्लाई मध्यनजर योजना बनाइएको र मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुटिसकेको बताए। उनले विगतका वर्षहरुको अनुभव र यस वर्ष बढी वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गरी आफूहरुले योजना बनाएको बताए।
उनले विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरी ५० प्रतिशत भन्दा बढी आवश्यक सामग्रीहरुको भण्डारण भइसकेको बताए। उनले ७ प्रदेश र ७७ जिल्लालाई नै पूर्वतयारी गर्नका लागि निर्देशन दिइसकेको र आर्थिक श्रोत, सामग्रीहरुको सुनिश्चितताका लागि आवश्यक पहल गरिएको जानकारी दिए।
उनले विभिन्न किसिमको प्रतिकार्यका लागि पहिला नै आकस्मिक कोषहरु छुट्याइएको र आवश्यकता अनुसार रकमहरु पनि परिचालन हुने बताए।
उनले भने, ‘मनसुनको पूर्वतयारीको सन्दर्भमा विगतका वर्षहरुको अनुभव र यसपालि बढी पानी परेर त्यसको क्षति ठूलो हुनसक्छ भनेर पूर्वतयारीलाई त्यत्तिकै ध्यान दिएर काम गरेका छौँ।’