कोहलपुर । बाँकेको कोहलपुर–१ कौशिलानगर निवासी स्मृतिशेष ऋषिराम लामिछानेको निधन भएको तेह्रौँ दिन राष्ट्रिय जनमोर्चा जिल्ला समितिले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
गत वैशाख २८ गते निधन भएका लामिछानेको स्मृतिमा २०८१ जेठ ८ गते मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
शोकसभालाई सम्बोधन गर्दै राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले स्मृतिशेष लामिछानेले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुर्याएको योगदानबारे चर्चा गर्नुभयो ।
मन्तव्यको क्रममा उहाँले लामिछानेको मृत्यु विशिष्ट र ओजपूर्ण भएको बताउनुभयो ।
जन्म संयोग भएको र मृत्यु शाश्वत सत्य भएको बताउँदै नेता नेपालीले लामिछानेको अवसानले पार्टीपङ्क्तिमा ठुलो क्षति भएको बताउनुभयो ।
शोकसभामा लुम्बिनी प्रदेशसभाका सांसद तथा पूर्वमन्त्री कृष्ण केसी नमुनाको पनि उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली सभामा पूर्व सांसद हरि आचार्य, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डिराज शर्मा, राजमो लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोखरेल, राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकाललगायतका वक्ताहरूले शोकमन्तव्य राख्नुभएको थियो ।
राजमो बाँकेका अध्यक्ष मोमिना खातुनको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभाको सञ्चालन राजमो बाँके सचिव मानबहादुर विकले गर्नुभएको थियो ।
२००१ साल भदौ २७ गते कास्कीपोखराको साविक तार्काङ गाविसमा पिता डण्डपानी लामिछाने र माता मनकुमारी लामिछानेको कोखबाट जन्मिएका स्मृतिशेष लामिछाने बसाइँसराइको क्रममा २०१८ सालमा चितवनको माडी हुँदै २०३७ सालमा बाँकेको कोहलपुर–१ कौशिलानगरमा आउनुभएको थियो ।
लामिछानेको परिवारमा पतनी लीलामाया लामिछानेसँगै तीन छोरा र दुई छोरीहरू रहेका छन् ।
