काठमाडौँ । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपालनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै जाँदा मौसममा क्रमिक सुधार हुँदै गएको छ ।
माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै गएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ भने हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
आज राति पनि देशभर आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्नेछ ।





