काठमाडौं । सत्तारुढ र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच सहमति भएको हो ।
छानबिन समिति बनाउन सहमति जुटेको र समितिको कार्यादेश (टीओआर) कस्तो हुने भन्ने विषयमा समितिमै छलफल हुने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
टीओआर बनाउने कार्यदलमा ४ जना रहनेगरी शनिबार सहमति जुटेको छ। समितिको नेतृत्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नेछन्।
जसमा रास्वपाका तर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार, नेकपा एमालेका तर्फबाट महेश बर्तौला समितिमा हुनेछन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा नामै किटेर गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै समिति बनाउनुपर्ने माग राख्दै आएको थियो।
सभामुख देवराज घिमिरेले भोलि (आइतबार) बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन्। त्यसअघि नै समितिको कार्यादेशमा काम हुने लेखकले जानकारी गराएका छन्।
कांग्रेसले सहकारी ठगीका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्दै आएको थियो। सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता देखिएको भन्दै कांग्रेसले उनको नामै किटेर छानबिन समिति बनाउन माग गर्दै आएको थियो।
कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि शनिबार बिहानैबाट प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए।
बिहान कांग्रेसका नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेसँग परामर्श गरेका थिए।
उनीहरू छलफलमै रहँदा कांग्रेस नेताहरूलाई बालुवाटारमा बोलावट भएको थियो। बालुवाटारमा कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन कुमार थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरू पुगेका थिए।





