काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह ९० वर्षमा प्रवेश गर्नुभएको छ ।
आज (वैशाख ३ गते) सिंहले आफ्नो ९० औँ जन्मदिन मनाउनुभएको छ ।
जन्मदिनका अवसरमा सिंहलाई पार्टीका नेता, कार्यकता, आफन्त, शुभचिन्तकलगायतले शुभकामना दिएका छन् ।
सोही अवसरमा सोमबार साँझ सिंहको निवासमा पारिवारिक जमघट भएको छ । सिंहलाई जन्मोत्सवको शुभकामना दिन आएका आफन्त र परिवारका सदस्यहरूको साँझपख जमघट भएको सिंहकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बताउनुभयो ।
महामन्त्री सिंहले जन्मदिन मनाउने गर्नुभएको छैन । तर, आफन्तहरुबीच भलाकुसरी तथा खानपिन गरि रमाइलो गरिएको पौडेलले बताउनुभयो ।
९० वर्षको उमेरमा पनि सिंह युवाजोशका साथ राजनीतिक एवम् साहित्यिक काममा जुटिरहनुभएको छ । हालै सम्पन्न नेकपा (मसाल) को नवौं महाधिवेशनबाट सिंह पुनः महामन्त्रीमा निर्वाचित हुनुभएको छ ।
यस्तै, साहित्यतर्फ पनि रुची राख्ने सिंहको जलजला उपन्या प्रकाशनको तयारीमा छ ।
सम्भवतः अहिलेसम्मकै ठूलो पुस्तककारको रुपमा आगामी दसैँसम्म जलजला प्रकाशन भइसक्ने सिंहले जानकारी दिनुभएको छ ।





