नवलपुर । जापान नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष दण्डबहादुर सापकोटालाई मातृशोक परेको छ । अध्यक्ष सापकोटाकी आमा मनरुपा सापकोटा (केसी)को चैत २९ गते (शुक्रबार) निधन भएको छ ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका रिस्मी १ घर भइ हाल नवलपुरको गैंडाकोट–५ मा बस्दै आएकी राष्ट्रिय जनमोर्चाका सदस्य मनरुपाको आफ्नै निवासमा निधन भएको हो ।
मृतकको शुक्रबार नै नारायणी घाटमा अन्त्येष्टि गरिएको छ। त्यसक्रममा उहाँको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाको झण्डा ओढाउनुका साथै एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
मृतक सापकोटाको परिवारका सबै सदस्य राष्ट्रिय जनमोर्चामा आवद्ध हुनुहुन्छ । उहाँका श्रीमान मानबहादुर सापकोटा केसी राजमो सक्रिय सदस्य हुनुहुन्छ भने ३ छोराहरू जेठा चन्द्रबहादुर सापकोटा राष्ट्रिय जनमोर्चाका वडासदस्य, माइलो छोरा दण्डबहादुर जापान नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष तथा कान्छो छोरा टीकाबहादुर जापान नेपाली एकता समाजकै केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ।
सिंगो परिवारलाई नै पार्टीको राजनीतिप्रति संलग्न गराएकी मनरुपाको निधनप्रति राजमो नवलपुरले दुःख व्यक्त गरेको छ ।
