टेकराज भुसाल, सन्धिखर्क ।
भूमिकास्थान नगरपालिका अर्घाखाँचीको आयोजना तथा राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको सहजीकरणमा सङ्घीय संसद्कै झल्को दिने गरी नमुना युवा नगरसभा सम्पन्न भएको छ ।
युवा नेतृत्व, नगरबारे जानकारी, युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि २०८० चैत २५ देखि २८ गतेसम्म यस प्रकारको कार्यक्रम सञ्चालन भएको हो ।

भूमिकास्थान नगरपालिकाका नगर प्रवक्ता तथा ४ नम्बर वडाअध्यक्ष बाबुराम पन्थी सुनार, ३ नम्बरका अध्यक्ष कृष्णप्रसाद बन्जाडे, ५ नम्बरका अध्यक्ष जयगोपाल श्रेष्ठ, ८ नम्बरका अध्यक्ष राजकुमार श्रेष्ठ, भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्य, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटा, सूचना अधिकारी हरिश्चन्द्र भुसाल, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा पालिकाभित्र माध्यमिक विद्यालयका प्राचार्यहरूको उपस्थितिमा सहभागी युवाले नमुना नगरसभाको प्रस्तुति दिएका थिए ।
नमुना नगरसभाको प्रमुख पदमा टेकराज भुसाल, सरोज बेल्वासे र सुष्मा परियारको उम्मेदवारी परेपछि निर्वाचन भएको थियो । निर्वाचनमा टेकराज भुसाल र सरोज बेल्वासेले समान १०/१० मत प्राप्त गरे भने अर्को उम्मेदवार सुष्मा परियारले १ मत मात्रै प्राप्त गरेपछि समान मत ल्याउने टेकराज र सरोजबिच चिठ्ठा गर्दा सरोज प्रमुख पदमा निर्वाचन बने भने उपप्रमुखमा बसन्ता नेपाली, सचिवमा सपना सुनारले र वडाध्यक्ष, लेखा तथा विधेयक समिति संयोजक, कार्यपालिका सदस्यलगायतका पदमा अन्य प्रतिनिधि निर्विरोध छनोट भएर आफ्नो भूमिका निर्वाह गरेका थिए ।

नमुना युवा नगरसभाका लागि नगरपालिकाको सभाहलमा राष्ट्रिय युवा परिषद् लुम्बिनी प्रदेशका कार्यकारी सदस्य सरोज खनाल, लिलबहादुर विक र सङ्घीय नमुना सांसद विक्रम नेपालीले तीन दिनको प्रशिक्षण दिएका थिए ।
नमुना नगरसभामा नगरपालिकाका १० ओटा वडा क्लबबाट छनोट भएर आएका २० जना प्रतिनिधि र पालिकाभित्रका सात विद्यालयबाट आएका सात जना १६–२४ उमेर समूहका २७ जना युवा प्रतिनिधिको सहभागिता थियो ।
नमुना संसदीय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानुन, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सापकोटाले जानकारी दिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रवक्ता तथा ४ नम्बर वडाका वडाध्यक्ष बाबुराम पन्थी सुनारले अहिलेका युवा देशका भोलिका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी भएकाले अहिलेबाटै जिम्मेवार बनाउन कार्यक्रम महत्त्वपूर्ण रहने उल्लेख गरे ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्य, जनप्रिय माविका प्राचार्य पूर्णप्रसाद श्रेष्ठ, प्रशिक्षक तथा राष्ट्रिय युवा परिषद् लुम्बिनी प्रदेशका कार्यकारी सदस्य सरोज खनाल, सहभागी टेकराज भुसाल र मनिसा खनालले बोल्दै यी र यस्ता कार्यक्रमले युवा नेतृत्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै वडा, टोल र विद्यालयमा समेत पुर्याउनुपर्ने बताए ।
नगरसभा समापनपछि टेकराज भुसालको नेतृत्वमा १३ सदस्यीय नगर युवा सञ्जालको गठनसमेत गरिएको थियो ।
वडा क्लब गठन तथा नमुना युवा संसद् कार्यविधि–२०७५ अनुसार प्रत्येक दुई/दुई वर्षमा नमुना नगरसभा गर्नुपर्ने उल्लेख छ ।
