• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

“ए साथी” गीतको सङ्क्षिप्त समीक्षा


  •   शनिबार, चैत २४, २०८० मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##

    Advertisement

    अहिले हाम्रो समाजमा चारैतिरबाट पुँजीवादी विचारधारा लादिएको छ । पुँजीवादी विचारधारा मानव जीवनका लागि अत्यन्तै विषाक्त विचारधारा हो । यो विषाक्त विचारधाराले नेपाली समाजलाई क्रमशः अस्वस्थ बनाइरहेको छ । एउटा सामान्य गरिबलाई पुँजीसँग प्रतिस्पर्धा गर्न असम्भव छ तैपनि उसको दिमागमा घुसेको विषाक्त पुँजीवादी विचारधाराको कारण ऊ पनि अधिक नाफाद्वारा पुँजीआर्जन गर्ने र विलासी जीवन बिताउने होडमा दौडिन बाध्य छ । आजको व्यक्ति आफ्नो देश, आफ्नो समाज र परिवर्तनप्रति भन्दा पनि व्यक्तिगत स्वार्थको दलदलमा उम्किनै नसक्ने गरी फसिरहेको छ ।

    यसरी पुँजीवादी विचारधाराका कारण पैदा भएको व्यक्तिको आत्मकेन्द्रित संस्कृतिका कारण समाजमा विकृति र विसङ्गतिको भयावह स्वरूप विकसित हुँदै गइरहेको छ । मानिसमा मानवता हराउँदै गइरहेको छ । समाज र देशप्रतिको प्रेम ओझेल परिरहेको छ । मान्छे आफ्नो व्यक्तिगत महत्त्वाकाङ्क्षा परिपूर्तिका लागि जतिसुकै कुधन्दा गर्न पनि अग्रसर भइरहेको छ । भ्रष्टाचार, तस्कर, घुसखोर, हत्या, आत्महत्या, बलात्कार, चोरी, ठगी, कुलत जस्ता सयौँ प्रकृतिका अपराधजन्य घटनाले प्रश्रय पाउँदै गइरहेको छ । इमानदार, कर्तव्यनिष्ठ र श्रम गरेर स्वाभिमानपूर्वक बाँच्न चाहने, पछाडि पर्ने, वा कठिन जीवन बिताउनुपर्ने अर्थात् समाजमा उनीहरूको कुनै स्थान नहुने परिस्थिति निर्माण हुँदै गइरहेको छ । यी सब हुनुका पछाडि पुँजीवादी विषाक्त विचारधाराले नै प्रमुख रूपमा कार्य गरिरहेको छ ।

    यस्तो विषाक्त विचारधाराले जकडिएको समाजमा जनवादी गीतसङ्गीतलाई प्रकाशमा ल्याउने कुरा आफैमा चुनौती र जोखिमपूर्ण रहेको छ किनकि जनवादी गीतसङ्गीत एक यस्तो हतियार हो, जसले पुँजीवादी विचारधाराले सिर्जना गरेको विकृति विरुद्धमा उभिने सशक्त हैसियत राख्दछ अर्थात जनवादी गीतसङ्गीत सारमा पुँजीवादी विचारसँग लड्नकै लागि सिर्जना हुने शक्ति हो भन्दा पनि हुन्छ । त्यसैले जनवादी गीतसङ्गीत पुँजीवादी विचारको विरुद्धमा छ । तसर्थ जनवादी गीतसङ्गीतले स्वाभाविक रूपमा समाजवादी विचारको पक्षपोषणमा काम गर्दछ । त्यसैले जनवादी गीतसङ्गीत र यसका सर्जकले पुँजीवादी समाजमा कठिनाई झेल्नुपर्ने, सङ्घर्ष गर्नुपर्ने, आथिक समस्या झेल्नुपर्ने जस्ता कैयौँ जटिलताको सामना गर्नुपर्ने हुन्छ तैपनि यो खुसीको कुरा हो कि आजको यस्तो जटिलतालाई पर्वाह नगरी जनवादी गीतसङ्गीत जनताको बिचमा ल्याउनका लागि कैयौँ जनवादी स्रष्टाले प्रयत्न गर्दै आउनुभएको छ ।

    यसै परिप्रेक्ष्यमा भर्खरै मात्र हाम्रो माझमा “ए साथी” बोलको एक सशक्त जनवादी गीत हाम्रो माझमा आइपुगेको छ । खासगरी जनवादी गायक थुमराज ढुङ्गानाको प्रयत्नबाट यो गीत हाम्रो बिचमा आएको हो । यो गीतको रचनाकार लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा अथक रूपमा क्रियाशील वामपन्थी विचारक थमन केसी हुन् भने यसमा रक्तिम सांस्कृतिक अभियानमा लामो समयदेखि क्रियाशील हुँदै आएका जनवादी गायक थुमराज ढुङ्गाना र कुस्मिता दर्लामीले स्वर दिएका छन् । यसका साथै रक्तिमका वर्तमान महासचिव तथा जनवादी गायक तथा सङ्गीतकार हेमराज आश्रमले सङ्गीत दिएका छन् ।

    यसरी यो गीतलाई जन्माउनमा भूमिका निर्वाह गर्ने सबै स्रष्टाहरू जनवादी विचार निर्माणको आन्दोलनमा लामो समयदेखि क्रियाशील रही खारिएका परिपक्व व्यक्तित्व हुन् । आन्दोलनकै बिचबाट अगाडि बढिरहेका सर्जकको गठजोडबाट निर्मित यो गीत भएकाले यसमा वैचारिक परिपक्वता तथा स्पष्टता रहेको छ अर्थात् यो गीतमा वैचारिक रूपले खोट लाउने कुनै ठाउँ छैन । यो कुरा गीतले दिएको भाव हेर्दा पनि प्रस्ट हुन्छ ।

    समग्रमा यो गीतले वामपन्थी तथा जनवादी आन्दोलनको मर्मलाई आत्मसात गरेको छ । वास्तवमा नेपालमा जनवादी आन्दोलन अगाडि बढाउने भन्ने कुरा निकै नै कठिन छ । यो आन्दोलनको बाटो अनेक मोडमा नागबेली जस्तै भएर अगाडि बढेको छ । यस्तो कठिन बाटोमा पनि हामीले साहसपूर्वक मुक्तिको आवाजलाई घन्काउँदै अगाडि बढ्नुपर्दछ । जस्तोसुकै कठिन बाटो भए पनि, जीवनमा हजारौँ हन्डर खानुपरे पनि सङ्घर्ष नै हाम्रो जीवनको आधार हो । हामी फुटेर होइन, एकजुट भएर अगाडि बढे मात्रै यो संसारलाई चम्काउन सक्छौँ ।

    हामी हिडेको बाटो भत्काउन, हामीले बोकिरहेको महान आस्था र विचारलाई कमजोर बनाउन, हाम्रो एकतालाई भताभुङ्ग बनाउन हाम्रा बैरी बलियो भएर आउने गर्दछन् । उनीहरू अनेक खालका षड्यन्त्र र जाल बुनेर हामीलाई हर पल फसाउने प्रयत्न गरिरहेका हुन्छन् । जनवादी आन्दोलन र क्रान्तिप्रति उनिएको हाम्रो विश्वासको मालालाई चुडालिदिन हाम्रा बैरीले रातदिन प्रयत्न गर्दै आएका छन् । हामीलाई समाप्त पार्न, हाम्रा पाइला मेटिदिन जनताको बिचमा उनिहरूले अनेकौँ भ्रम छर्ने गर्दछन् । यस्तो बेलामा हामी हिम्मत हार्नुहुन्न । हामी शिथिल र कमजोर बन्नुहुन्न । यदि हामी शिथिल भयौँ भने हामी पछि हट्यौँ भने हाम्रा दुस्मनलाई नै फाइदा पुग्ने छ ।

    उनीहरूले हामीमाथि झन् धेरै अन्याय–अत्याचार गर्ने छन्; भ्रष्टाचार र कुशासन चलाउने छन् र उनीहरूले शिर उठाउने मौका पाउने छन् । हामी निराश भयौँ भने, हाम्रो मनमुटु कमजोर भयो भने यसले हामीलाई झन गलाउँदै लैजान्छ । हाम्रा विरोधीको जालमा फसेर हामी बहकिनुहुन्न । हाम्रो आस्था र विचारलाई बिर्सेर हामी आपसमा झगडा गर्नुहुन्न । हाम्रो घरझगडाले हाम्रै अस्तित्व खरानी हुने छ ।

    त्यसैले हामी एकताबद्ध भएर सुन्दर संसार निर्माण गर्न अगाडि बढ्नुपर्छ । यस्तै यस्तै विचार रक्षाको सन्देश प्रवाह गर्दै, क्रान्तिको यात्रामा अग्रसर साथीभाइमा उच्च साहस र क्रान्तिकारी भावना जागृत गर्दै अनि एकताबद्ध आन्दोलनको भाव सम्प्रेषण गर्दै यो सुन्दर गीतको बिट मारिएको छ ।

    एक स्थायी भाग र दुई अन्तरा भागमा संरचित यो जनवादी गीत विचार पक्षबाट मात्रै होइन, कला पक्षमा पनि त्यत्तिकै प्रशंसनीय रहेको छ । नेपाली लोकभाकालाई पछ्याउँदै सङ्गीतबद्ध गरिएका कारण यो गीतमा सरलता, सुबोधता र श्रुतिमाधुर्य जस्ता गुणले भरिपूर्ण रहेको छ । स्वरमा भएको मिठासपन, शब्दमा भएको सरलता, कर्णप्रिय र कलात्मक सङ्गीत/धुन आदि पक्षले यो गीत आम सर्वसाधारण मानिसका मनमुटुमा पनि सहजै अन्तरघुलित हुने देखिन्छ । यति मात्रै होइन, जोसिलो साङ्गीतिक झन्कार र कर्णप्रिय लोकलय समेटिएको क्रान्तिकारी गीत भएकाले नृत्यपारखी जोसुकैलाई पनि छमछमी नचाउन सक्ने जादुमय क्षमता यो गीतले राख्ने गरेको छ ।

    यति हुँदाहुँदै पनि हरेक चिज आफैमा पूर्ण हुँदैन भने जस्तै यो गीतमा पनि कतिपय सुधार गर्नुपर्ने र कमजोर पक्ष पनि हामीले देख्न सक्छौँ । विषयवस्तुलाई सिलसिलाबद्ध रूपमा अगाडि बढाउन नसक्नु यो गीतको कमजोर पक्ष रहेको छ । एउटा गीतमा एउटा निश्चित विषयवस्तु छनोट गरेर सिलसिलाबद्ध रूपमा प्रस्तुत गर्ने र त्यसै विषयवस्तुको आधारमा ठोस सन्देश दिन सक्यो भने गीतमा थप निखारता आउने गर्दछ तर यस गीतमा विषयवस्तुको सिलसिला अझै राम्ररी मिलाएर प्रस्तुत गर्न नसक्दा यसको सौन्दर्य पक्षमा केही कमी जस्तो महसुस गर्न सकिन्छ । त्यसैगरी गीतका लागि आवश्यक पर्ने र मिठास दिने शब्द चयन गर्ने कुरामा थप मिहिनेत गरेको भए सुनमा सुगन्ध हुने थियो । त्यस्तै, गीतमा कर्णप्रिय स्वर हुँदाहुँदै पनि कतिपय शब्दहरू अस्पस्ट जस्तो सुनिन पुगेका छन् । यसमा सुधार गर्न सकेको भए अझ राम्रो हुने थियो । यति हुँदा पनि गीतको सबल पक्षको अगाडि दुबल पक्ष नगन्य अवस्थामा रहेका छन् ।

    गीतको भाव र यसका सबल तथा दुर्बल पक्षबारे जानकारी प्राप्त गर्नका लागि यस गीतको सम्पूर्ण पाठ निम्नअनुसार रहेको छ :

    ए साथी कठिन छ बाटो नागबेली घुम्छ मोडमोडमा
    साहस गरी मुक्तिको आवाज घन्काऊ है ओठओठमा
    हुन्छन् हजारौँ हन्डर सङ्घर्षको जीवनको आधार
    टुटफुट होइन एकगठ बनी चम्काऊ है संसार

    हाम्रो आस्था जलाउँदै छन् बैरी मिलेर सोच गरौँ
    विश्वासको माला चुडाल्दै छन् जालमा पारेर होस गरौँ
    यात्रा हाम्रो रोक्न खोज्लान् काला धन सारा देखाउँदै
    पाइला हाम्रो मेट्न खोज्लान् भ्रम षड्यन्त्र फैलाउँदै

    झन् झन् हाम्रो शिथिलताले दुस्मनले शिर उठाउँछ
    सुन्दर भविष्य सुशासन संसारबाट हुत्याउँछ
    निराश जीवन कमजोर मनले विचार हाम्रो गलाउँछ
    आपसमा हाम्रो घरझगडाले अस्तित्व सारा जलाउँछ

    यसरी यजनवादी गीतसङ्गीतको क्षेत्रमा “ए साथी” नामको एक महŒवपूर्ण इँटा थपिएको छ । यसले वामपन्थी आन्दोलनभित्रका आम जनता र कार्यकर्तामा थप ऊर्जा र चेतना सँगसँगै जागृत गर्ने कार्यमा अहम् भूमिका निर्वाह गर्ने छ भन्ने अपेक्षा लिन सकिन्छ ।

    थुमराज ढुङ्गाना सरगम युट्युब च्यानलबाट सार्वजनिक भएको “ए साथी” शीर्षक रहेको गीतको ब्यानर निकै आकर्षक र कलात्मक देख्न सकिन्छ । रातो पृष्ठभूमि रहेको ब्यानरमा रचनाकार, सङ्गीतकार र गायकगायिकाको अलावा वामपन्थी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका व्यक्तित्व शक्तमान बुढाथोकीको तस्बिर पनि सजाएर राखिएको हामीले देख्न सक्छौँ । यसले यो गीत निर्माणमा शक्तमान बुढाथोकीको भूमिका तथा योगदान पनि मिसिएको रहेछ भन्ने कुराको स्पष्ट झल्को पाउन सकिन्छ । त्यसैले यो गीत निर्माणमा भूमिका खेल्ने शक्तमान बुढाथोकीलगायतका रचनाकार, सङ्गीतकार, तथा गायकगायिका सबैलाइ हार्दिक बधाई, धन्यवादका साथै गीतले स्रोताबाट अपार माया र सफलता प्राप्त गरोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।

    शनिबार, चैत २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.