काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्युठानको बड्डाँडामा भएको जिप दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेको तत्कालै उपचार तथा शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेको छ ।
उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० पुस १४ गते शनिबार प्रेसवक्तव्य जार गर्दै राजमोले शीघ्र स्वास्थ्यलाभको कामना तथा तत्कालै उपचारको व्यवस्था मिलाउन माग गरेको हो ।
वक्तव्यमा भनिएको छ :
“प्युठान सरुमारानी गाउँपालिका–४ बड्डाँडामा आज भएको जिप दुर्घटनामा एकै घरका सात जनासहित १४ जना घाइते भएको घटनाप्रति राष्ट्रिय जनमोर्चा दु:ख व्यक्त गर्दछ ।
राष्ट्रिय जनमोर्चा सो घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै उनीहरू तत्कालै उपचारको समुचित व्यवस्था गर्न पनि प्रशासनसँग माग गर्दछ ।”
जिल्लाको बागदुलाबाट भालुबाङका लागि छुटेको लु२ ख३०९३ नम्बरको जिप पुस १४ गते शनिबार सडकबाट झन्डै एक सय मिटर तल खस्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा एकै परिवारका सात जनासहित १४ जना यात्रु घाइते भएका छन् ।
गम्भीर घाइते हुनेहरूमा कपिलवस्तु शिवराज–१ का वर्ष ५८ का अने सुनार, उहाँकी छोरी वर्ष २० की सावित्रा सुनार रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई भालुबाङमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
त्यस्तै, अन्य घाइतेहरूमा सोही ठाउँका वर्ष २१ का रिखे सुनार, वर्ष १५ का निमप्रसाद सुनार, वर्ष ३६ का बलबहादुर सुनार, निजकी पत्नी वर्ष ३४ की सङ्गिता सुनार, रुपन्देही जिल्ला गैडहवा–७ की वर्ष ४७ का तिलबहादुर गिरी, निजकी पत्नी वर्ष ४६ कि विष्णुमाया गिरी, दाङ राप्ती–२ लालमटियाकी वर्ष ३५ की जानका आचार्य र घोराही–९ नारायणपुरका भूमिराम उपाध्याय रहेका छन् ।
एवम् प्रकारले, उमेर र ठेगाना खुल्न बाँकी रहेका अन्य घाइतेहरूमा सृष्टि आलेमगर, झग्गुप्रसाद न्यौपाने र कपिलवस्तु निवासी निमप्रसाद खनाल, याललाल न्यौपाने रहेका छन् ।
घाइतेमध्ये केहीलाई थप उपचारका लागि बुटवल र भैरहवा पठाइएको छ भने केहीलाई भालुवाङमा सामान्य उपचारपछि घर पठाइएको छ ।





