महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका –४ महेन्द्रनगरमा तत्कालीन राजा महेन्द्रको सालिक राख्न खोज्ने र राख्न नदिने पक्षबीचको विवादका कारण निषेधाज्ञा जारी भएको छ ।
राजा महेन्द्रको सालिक राख्ने विषयमा दलहरूबीच विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले महेन्द्रनगर बजारका केही स्थानमा निषेधाज्ञा जारी गरेको हो ।

कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार भण्डारीले बजारका दुई स्थानमा निषेधाज्ञा जारी गरेका हुन्।
प्रशासनले संविधान चोक र त्यसबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्र र संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार महेन्द्रनगरमा आमसभा गरिरहेको छ । सोही क्रममा महेन्द्रको सालिक राख्ने तयारी गरेपछि गणतन्त्रवादी दलहरुले त्यसको विरोध गरेका थिए ।
झडप हुनसक्ने आशंकाका कारण स्थानीय प्रशासनले स्मारक क्षेत्रमा आमसभा गर्न नदिएर निषेधाज्ञा लगाएको हो । राप्रपाको आमसभा सब्जिमण्डि रोडमा चलिरहेको छ । सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
भीमदत्त नगरपालिका वडा नं ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा सालिक राख्न दिने नदिनेबारे दलहरुबीच मतभिन्नता भएपछि सम्भावित संकट टार्न प्रशासनले निषेधाज्ञा लगाउनु परेको सूचनामा जनाएको छ ।
प्रशासनले अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका लागि जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम बिहीबारदेखि आगामी सात दिनका लागि निषेधाज्ञा जारी गरेको हो।
यो अवधिमा ५ जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको अधिकारीले जनाएका छन्।
