काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वल्ड एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एशियका तर्फबाट नेपालका रसायनशास्त्री प्राडा हेमराज पन्त चयन हुनुभएको छ ।
आजीवन सदस्यसरहका हैसियतले प्राडा पन्तले अन्तर्राष्ट्रिस्तरको सो संस्थाको प्राज्ञिकसभामा प्रतिनिधित्व गरी चुन्ने र चुनिने अवसर पाउनुहुने भएको हो । सो संस्थामा हाल करिब एक हजार चार सय प्राज्ञ सदस्य रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङ विभागका प्रमुख प्राडा पन्तले आफ्नो क्षेत्रमा गर्नुभएका प्रकाशन र अध्ययन–अनुसन्धानसमेतको मूल्याङ्कनका आधारमा अल्पविकसित देशका तर्फबाट प्राज्ञका रूपमा उहाँ चयन हुनुभएको हो ।
पन्त नेपाल प्राध्यापक सङ्घ पुल्चोक क्याम्पस एकाइको सभापति पनि हुनुहुन्छ । यसअघि नेपालबाट प्राडा दयानन्द बज्राचार्य, प्राडा पिके झा, प्राडा विशालनाथ उप्रेती र प्राडा विजया पन्त ट्वासको प्राज्ञमा चुनिइसक्नुभएको छ ।
प्राडा पन्तले नेपालको तर्फबाट प्राप्त यस किसिमको महत्त्वपूर्ण जिम्मेवारीले विज्ञान, प्रविधि क्षेत्रको विकास र प्रोत्साहनमा सहयोग पुग्ने बताउनुभयो ।
इटलीमा मुख्यालय रहेको उक्त संस्था सन् १९८३ मा विज्ञान र इन्जिनियरिङ क्षेत्रमा ज्ञान र सिप आदानप्रदान गर्ने लक्ष्यका साथ विकसित मुलुकका तर्फबाट पाकिस्तानका भौतिकशास्त्री नोबेल पुरस्कार विजेता अब्दुस सलमको नेतृत्वमा स्थापित भएको थियो ।