काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ घोराखोरीमा अनौठो ढंगले दन्त शिवीर उद्घाटन गरिएको छ । दाँत नभएकी एक महिलाको मुखमा डाक्टरले राखिदिएको दाँत अतिथिहरुले ठेलेर कार्यक्रमको सुरुवात गरिएको हो ।
चैत ३ गते जेष्ठ नागरिकलाई दाँत उपहार दिएर दन्त शिविर उद्घाटन गरेको यो फोटो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।
तस्बिरमा डेन्टिस्ट केशव रिमालले एक ज्येष्ठ महिलाको मुखमा राखिदिएको दाँत प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, गाउँपालिका अध्यक्ष नवराज केसी, प्रदेश सांसद मोहन कुमार खड्का, चम्पादेवी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष अजय लुइँटेललगायत अतिथिहरुले छोएर भित्र ठेलेको देखिन्छ ।
गाउँपालिका अध्यक्ष नवराज केसीले गाउँपालिकालाई ‘थोतेरहीत’ बनाउन सबैलाई दाँत उपहार दिने र कोरोना संक्रमणबाट बच्न जनचेताना जगाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
दाँत उपहार दिने र कोरोनाबारे सचेतना जगाउने कार्यक्रमका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पाँच लाख रुपैयाँ नगद र पूर्वाञ्चल डेन्टल अस्पतालले प्राविधिक सहयोग गरेको उनले बताए ।