काठमाडौं । नेकपाका नेता भीम रावलले कालापानीसहितको नक्सा सार्वजनिक गर्न संसदले दिएको निर्देशन नमानेको भन्दै सरकारप्रति आपत्ति प्रकट गर्नुभएको छ । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद रावलले सरकारी अधिकारीका अभिव्यक्ति प्रति पनि आपत्ति प्रकट गर्नुभयो ।
रावलले सरकारी अधिकारीहरुले नक्सा सार्वजनिक गर्ने सम्बन्धमा दिएको जवाफप्रति आक्रोश व्यक्त गर्नुभएको हो । ‘नक्सा जारी गर्नु ठूलो कुरा होइन् । भूमि फिर्ता गर्नु ठूलो कुरा हो’, भन्ने भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारणमन्त्री पद्मा अर्यालले दिएको अभिव्यक्ति रावलले असन्तुष्टि जनाउनुभएको हो ।
वार्ताबाटै समाधान हुनुपर्ने धारणा आफ्नो भएपनि वार्ताबाट समाधान नहुँदासम्म नक्सा सार्वजनिक गर्न ज्योतिषीलाई देखाउनुपर्ने हो र? भन्दै उहाँले व्यंग्य समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘अतिक्रमणमा परेको नेपाली भूमि सहितको नक्सा सार्वजनिक गर्नलाई अब पशुपतिनाथको देश हो । त्यहाँ कुनै ज्योतिषिलाई देखाउनुपर्छ भने लगन हेरौँ । होइन अब सार्वभौम संसदले भनेको कुरा मान्ने हो भने नक्सा सार्वजनिक गर्नुप-यो ।’
परराष्ट्रमन्त्रालयका सचिव शंकरदास बैरागीले भारतीय विदेश सचिव र नेपालका लागि भारतीय राजदूत फेरिएपछि नेपालले प्रस्ताव गरेको मितिमा वार्ता हुन नसकेको बताउनुभयो ।
सचिव बैरागीले यो वर्ष नेपाल भारत सीमामा १ सय ५५ सीमास्तम्भ निर्माण भएको बताउनुभयो । यस्तै १५ स्तम्भ मर्मत र ३९ ठाउँमा सर्भे भएको उहाँले बताउनुभयो । नेपाल भारत संयुक्त प्राधिक समितिले विभिन्न ४ टोली बनाएर सीमा निरीक्षण गरेर तथ्याङ्क समेत संकलन गरेको उहाँले जानकारी दिनुभयो ।