बेरुत । लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) ले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ ।
युनिफिल सञ्चार कार्यालयका उपनिर्देशक क्यान्डिस अर्डेलले भन्नुभयो– ‘पछिल्ला दिनमा सीमामा देखिएको तनावले घटना चाँडै विकसित हुन सक्ने सङ्केत गरेको छ ।’
संयुक्त राष्ट्र सङ्घका अधिकारीले इजरायल र लेबनानलाई तनाव बढाउने गतिविधिबाट जोगिन आग्रह गरेका छन् ।
लेबनानको दक्षिणी सीमावर्ती सहर यारिनको बाहिरी इलाकामा एक वाच टावर स्थापना गरिरहेका हिजबुल्लाहका सदस्यमाथि इजरायली ड्रोनले बुधबार आक्रमण गर्दा तीन जना घाइते भएको लेबनानको एलनासरा समाचार संस्थाले जनाएको छ । त्यसको जवाफमा हिजबुल्लाहले ड्रोन खसालेको समाचारमा उल्लेख छ ।
संयुक्त राष्ट्र सङ्घका शान्ति सैनिकले सीमाको स्थितिको निगरानी जारी राखेकाले युनिफिलले इजरायल र लेबनान दुवै देशका अधिकारीसँग सम्पर्क गरेको अर्डेलले पुष्टि गर्नुभयो । (रासस/सिन्ह्वा)