काठमाडौं राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले तत्कालिन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिशन मागेकोबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद पौडेलले प्रधानमन्त्रीसँग जवाफ माग्नुभएको हो ।
बास्कोटाको कमिशन प्रकरणमा अरुको पनि संलग्नताको आशंका गर्दै राजमो उपाध्यक्षसमेत रहेकी सांसद पौडेलले पर्दा पछाडी को को छन्, तत्काल छानबिन गर्नुपर्ने बताउनुभएको छ ।
‘एकजनाले मात्र त्यति ठुलो घटना घटाउन सक्ने सम्भव देखिँदैन । पर्दा पछाडीको सत्य के हो ? त्यसको पनि छानबिन गरी तिनलाई पनि कार्वाहीको दायरामा ल्याउनु पर्छ’ सांसद पौडेलले भन्नुभयो ।
देशमा अहिले एक पछि अर्को गर्दै ठुला–ठुला भ्रष्टाचाका काण्डहरु देखिइरहेका भन्दै पौडेलले अधिकांश भ्रष्टाचार राजनीतिक तहबाटै भइरहेको दाबी पनि गर्नुभयो । उहाँले हरेक आयोजनामा कमिशन विना काम नहुने भन्दै भ्रष्टाचारका कारण राज्यको ढुकुटीमा केही व्यक्तिको ब्रम्हलुट भइहेको र विकासका कार्य प्रभावित बनिरहेको बताउनुभयो ।
भ्रष्टाचारका प्रकरणबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्दै सांसद पौडेलले माग गर्नुभयो । ‘भ्रष्टचारलाई नियन्त्रण गर्न सरकारले तत्काल प्रभावकारी कदम नचाले त्यसको दुष्परिणाम भयंकर रुपमा आउने देखिन्छ’ सांसद पौडेलले भन्नुभयो, ‘भष्टचारको कुरा मन्त्रीसम्म आएको हुनाले यो सदनमा प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ७० करोड कमिशन मागेको भन्ने हल्ला ‘फ्रड’ भएको र गोकुल बास्कोटा निर्दोष रहेको भनेकै दिन सांसद पौडेलले प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको हो । तत्कालिन सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि एक कम्पनीका एजेन्टसँग ७० करोड कमिशन मागेको अडियो बाहिरिएपछि उनले राजीनामा दिएका थिए ।

