विष्णु शर्मा ##
सजीव प्राणी भएर मात्र के काम र ?
भूमिका निर्जीवको जस्तो भयो भने
हातमा अनेकौँ डिक्री राखेर मात्र के काम ?
व्यावहारिक पक्ष अनपढको जस्तो भयो भने
भाषण चर्का मात्र भएर के काम ?
काम गर्ने बेला सिन्कोसम्म भाचिएन भने
अकुत धनसम्पत्ति भएको के काम ?
आज खाएर भोलिलाई साचिएन भने
आस्थामा अडिग छु मात्र भनेर के काम ?
सामान्य हावाको झोँकाले हल्लाइदिन्छ भने
मुखले राष्ट्रसेवक हुँ मात्र भनेर के काम ?
विदेशीलाई उधो लगाउने जिम्मा लिन्छ भने
देशको नागरिक भएर मात्र के काम ?
देशमै बसी विदेशीको जागिर खाइन्छ भने
कुनै संस्थामा आचारसंहिता भएर के काम ?
व्यावहारिक पक्षमा मनपरी गर्न पाइन्छ भने
देश पराधीन थिएन भनेर के काम ?
शासक गर्नेहरू कपुत जन्मिएपछि
मुखले अखण्ड नेपाल भनेर के काम ?
नियत देशलाई खण्ड खण्ड पार्ने भएपछि
अन्तर्राष्ट्रिय विज्ञ भएर मात्र के काम ?
व्यवहारमा देशको सौदाबाजी गर्छ भने
त्यस्तो व्यक्ति बाचेर पनि के काम ?
हुनुपर्ने देशभक्ति भावना मर्छ भने
व्यवसायमा लगानी लगाएर के काम ?
उपलब्धि सधैँभरि शून्य हुन्छ भने
नेपालआमाका सन्तान भएर के काम ?
हाम्रै कारणले आमाको मन रुन्छ भने
भनाइमा जनसेवक भएर मात्र के काम ?
अन्तरमनले उनैलाई धोका दिएको छ भने
देश कसरी प्रगति पथमा लम्किन्छ र ?
युवाले नै विदेशी सपार्ने ठेक्का लिएको छ भने
संसारका मजदुर एक हौ भनेर मात्र के काम
चरित्र उनैको आन्दोलन दबाउने भयो भने
सर्वहारा वर्गको अधिनायकत्व कसरी आउँछ ?
मजदुरका मसिया नै दुस्मनसँग मिल्न गयो भने
युवा वर्ग जाग्यो भनेर प्रफुल्ल कसरी हुनु ?
नतिजा बिनासकारी नै आउँछ भने
बोलीको भरमा ताली कसरी पिट्नु ?
देशलाई कलङ्कको टीका लाउँछ भने।।
लामा लामा लेख लेखेर मात्र के काम ?
यदि लेख्नकै लागि मात्र लेखिन्छ भने
जनवाद, समाजवाद, साम्यवाद भनेर के काम ?
यहीँ नै उत्पीडितको मुक्ति देखिन्छ भने
कलममा एकता भएर मात्र के काम ?
गराइमा अनेकता हुँदै गयो भने
देश समृद्ध र जनता त्यति बेला सुखी हुन्छन्
शासकको बोलाइ र गराइ मिल्न गयो भने