विष्णु शर्मा
भोकमा गास भएन जनतालाई
संसार चाहार्दा पनि ।
हेर्ने कोही छैन उनको घरमा
चुल्हो बल्यो कि बलेन भनी ।।
रोगमा सिटामोल छैन उनलाई
दिनरात मिहिनेत गर्दा पनि ।
अहिले कस्तो छ भन्ने कोही छैन
बिरामी भई ओछ्यान पर्दा पनि ।।
घामपानी छेक्ने ओत छैन उनलाई
सधैँजसो पसिना बगाउँदा पनि ।
तलाई गर्मी भयो भन्ने कोही छैन
पसिना चुहाउँदै काम गर्दा पनि ।।
शिक्षा दिनु छैन लालाबालालाई
उज्यालो किरण जान्दाजान्दै पनि ।
बालकबाटै श्रमिक बनाउनुपर्छ
अभिभावकले नमान्दा–नमान्दै पनि ।।
कैयौँ अफिसियल काम हँुदैनन्
अफिसमा बर्सौ धाउँदा पनि ।
नागरिक भन्ने भ्याउ छैन
कर्मचारी अगाडि आउँदा पनि ।।
तलबले नअघाएर कर्मचारी
घुसको बलले काम गर्छन् ।
दोहोरो आयले मालामाल हुन्छन्
जनता भोक, शोक र रोगले मर्छन् ।।
नेता अनि मन्त्रीको घरमा पाक्छन्
अनेकौँ खानाका परिकारहरू ।
जनताले उपभोग गर्न पाउदैनन्
उनैका नैसर्गिक अधिकारहरू ।।
उनीहरूलाई ठिक्क भएको हुन्छ
आफ्नै तलब र भत्ता बढाउँदैमा ।
भ्रष्टाचार र घुसखोरीले फुर्सद छैन
तला तला बिल्डिङ ठड्याउँदैमा ।।
उनीहरू सामान्य बिरामी पर्दा
विदेशी महङ्गो उपचार चाहिन्छ ।
जनतालाई गाउँको उपचार पाउन
पाइला पाइलामा ठक्कर खाइन्छ ।।
सबैले समान अधिकार पाउन
शासक समतामुखी हुनैपर्छ ।
देशमा उज्यालो ज्योति बाल्न
चेतनाको सगरमाथा छुनैपर्छ ।।