काठमाडौं । ढुंगाखानी विस्फोटमा परी कुवेतमा छ नेपाली युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतको एक कम्पनीमा कार्यरत छ जनाको बालुवाढुंगाको ढिस्कोले पुरिएर मृत्यु भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । दुई जना घाइते छन् ।
मृतकहरुमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको पहिचान खुले पनि बाँकी दुई जनाको पहिचान खुलेको छैन । उनीहरुको स्पष्ट विवरण आउने क्रममा रहेको दूतावासको भनाइ छ । घाइते हुनेमा धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल छन् ।
मण्डल सामान्य घाइते भएकाले उपचारपछि कम्पनीमा फर्किसकेका भए पनि शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको दूतावासको भनाइ छ । उनीहरु कुवेतको अल मुत्ला सिटी प्रोजेक्टमा युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्राक्टिङ कम्पनीमा कार्यरत रहेको दूतावासले जनाएको छ ।
उक्त घटना माघ २९ मा भएको नेपाली दूतावास कुवेतले जनाएको छ ।

यो पनि पढ्नुहोस्ः ढुंगाखानी विस्फोट हुँदा कुवेतमा चार नेपालीको मृत्यु