काठमाडौं । कुवेतको एक ढुंगाखानीमा भएको विस्फोटमा चार जना नेपालीको मृत्यु भएको छ । अन्य कैयौं नेपालीसहित श्रमिकहरु पुरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
कुवेतस्थित अलमुतलायामा रहेको ढुंगा–बालुवा खानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा धेरै श्रमिक पुरिएका हुन् । घटनास्थलबाट ६ जनाको शव निकालिएको छ। उनीहरुको नाम सार्वजनिक भएको छैन ।
समाचारमा जनाइए अनुसार शव प्राप्त भएकामध्ये चार जना नेपाली श्रमिक छन्। १३ नेपाली र एक भारतीय नागरिक दुर्घटनामा परेको आशंका छ। तीन जना घाइते भएका छन्। घाइतेको स्थानीय जहान अस्पतालमा उपचार भइरहेको छ।
खाडलमा चिनियाँ कामदार पनि काम गरिरहेका थिए। उनीहरु ढुंगा र बालुवाको थुप्रोमा पुरिएको अरब टाइम्सले जनाएको छ। श्रमिकहरु खाडलमै भएका बेला ढुंगा फुटाउन बम बिस्फोट गरिएको थियो।
विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो। स्थानीय सुरक्षाकर्मीले दुर्घटनामा परेका कामदारको यकिन संख्या सार्वजनिक गरेका छैनन्।
घटनास्थलमा सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।