नेपालगञ्ज । संविधान सभाका प्रथम सहिद कमल अधिकारीको पन्ध्रौँ स्मृतिदिवस सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा बाँकेको आयोजनामा २०७९ चैत ६ गते सोमबार नेपालगन्जमा एक सङ्क्षिप्त कार्यक्रमका साथ सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकाल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) बाँकेका सल्लाहकार जोगप्रसाद भण्डारी, युवक सङ्घ बाँकेका सदस्य खगेन्द्र खत्री, अखिल (छैठौं) बाँकेका अध्यक्ष नमराज चन्दलगायतले सहिद अधिकारीले देखाएको बलिदानीपूर्ण योगदानको बाटोलाई पछ्याए मात्र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयोे ।
सहिद अधिकारी २०६४ सालको संविधान सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट बाँके २ नं. क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई २०६४ चैत ५ गते राती ११ बजे सिकन्दर खाँ, भुल्लन केवट, होलि केवट र अशोक बर्मा सम्मिलित सशस्त्र समूहले गोली हानेको थियो । सहिद अधिकारीले भेरी अस्पतालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मालाई सो जानकारी दिनुभएको थियोे ।
चैत ६ गते बिहान सोही अस्पतालमा उपचारको क्रममा सहिद अधिकारीको निधन भएको थियो ।
राष्ट्रिय जनमोर्चाले सोही बखत उहाँलाई सहिद घोषणा गरेको थियो । यता, नेपाल सरकारले भने हालसम्म उहाँलाई सहिद घोषणा गरेको छैन ।
हत्याराहरू माओवादी समर्थक थिए । सहिद अधिकारीको किटानी जाहेरीको आधारमा निजहरूलाई जेलचलान गरिए पनि ती हत्याराहरूलाई माओवादीले आस्थाका बन्दी भन्दै जेलमुक्त गराएका थियो । जेलमुक्त हुँदा माओवादीले निजहरूलाई फूलमाला र अबिरजात्रासहित स्वागत गरेका थिए ।
सङ्घीयता, जातीय राज्य, एक मधेस एक प्रदेशलगायतका राष्ट्रघाती अवधारणाको खुलेर विरोध गर्दा त्यसका पक्षपातीले उहाँको हत्या गरेको पर्यवेक्षकहरू बताउँछन् ।

