कल्पना पौडेल ‘जिज्ञासु’ ##
अस्ताउँदो सूर्यको किरणले गोधूलि साँझलाई निम्तो गरिरहेको थियो । सप्तरङ्गी किरणहरूले घरको आँगन, बार्दली र वरिपरिको वातावरणलाई मनमोहक बनाइरहेको थियो ।
बिहानैदेखि चारोको खोजीमा उडेका चराचुरुङ्गीहरू साँझ बासमा फर्किने ओइरो थियो । चिरबिर चिरबिर गर्दै सुमधुर स्वरमा गुन्जिएको चराचुरुङ्गीको ध्वनि हरिकलाको कानमा गुन्जिन पुग्यो । उनी बार्दलीमा आइन् र डुब्दै गरेको सूर्यलाई हेरिन् । ओहो ¤ साँझ परेछ । घाम अस्ताएछन् । चराचुरुङ्गी पनि गुँडमा फर्किने बेला भएछ । गास, बास र कपासको खोजीमा उडेका मेरा छोराछोरी घर फर्किने दिन कहिले आउला ? भन्दै सुइय लामो सुस्केरा हालिन् ।
बार्दलीबाट ठ्याक्कै देखिन्छ, झ्याम्म परेको समीको रुख, जसमा सुन्दर गुड बनाएर चराको जोडी बस्दछ । केही दिनदेखि पोथी ओथारो बसेकी थिई । त्यो दृष्य देखेर हरिकला आफू सुत्केरी हुँदाको पल सम्झेर मुसुक्क मुस्कुराउँथिन् । जीवनमा पहिलोपटक आमा बन्दाको क्षण अत्यन्तै सुखद मिठो र अविस्मरणीय लाग्थ्यो उनलाई । सायद संसारका सबै आमाहरूको अनुभूति यस्तै हुन्छ होला ।
साना साना बचेरा गुडमा छोडेर पोथी चारो खोज्न जान्थी । भाले चरो खै कता जान्थ्यो कुन्नि ? पोथीले चारो ल्याएर चुच्चोबाट बचेरालाई खुवाएको देख्दा हरिकलाका आँखा रसाउथे ।
प्रकृतिले के अचम्मको वरदान दिएको होला ? मान्छे हुन् वा पसुपन्छी, हरेक जीवजन्तुमा सन्तानप्रतिको ममता पोथीजातिमा उत्तिकै हुन्छ । कैयौँ यस्ता जीवजन्तु र पशुपन्छी पनि छन्, सन्तान जन्मिँदासाथ पिताको खतरा रहन्छ र नयाँ ठाउँमा सारेर सन्तानको रक्षा आमाले गरेकी हुन्छिन् । वास्तवमा जुनसुकै जन्तुमा किन नहोस्, आमा महान् छिन् ।
आमा बन्ने सौभाग्य पाएकोमा प्रकृतिलाई धन्यवाद दिइन हरिकलाले ।
धेरैजसो समय हरिकला बार्दलीमा बिताउथिन् । बाटोमा हिँड्ने बटुवालाई हेर्थिन् । बेला बेलामा नजÞर समीको रुखमा पुर्याउथिन् । बचेरा कत्रा भए होलान भन्ने जिज्ञासा लाग्थ्यो उनलाई ।
हेर्दाहेर्दै बचेरा पनि भुर्र उड्न सक्ने भएछन् । पोथी तिनै बचेरासँग खेल्थी । रमाउँथे बचेराहरू । कति रमाइलो लोभलाग्दो देखिन्थ्यो वातावरण ।
हरिकला आफ्नो विगत सम्झन्थिन् । घरि घरि भावुक हुन्थिन् । घरि घरि मुस्कुराउथिन् । मनै त हो, आफ्नो बसमा कहाँ हुन्छ र ?
बचेरा गुड छोडेर उडे आकाशमा, जसरी हरिकलाका छोराछोरी सुन्दर भविष्यको खोजीमा सात समुद्रपारि जानका लागि उडेका थिए जहाजमा ।
अब भने गुँडमा पोथी एक्लै हुन्थी, जसरि घरमा हरिकला हुन्थिन् ।
दिन बितेर गए । बर्खा पनि लाग्यो । ठुलो हावाहुरी चल्यो । चराको गुडसहित हाँगा नै भाँचियो । पोथीलाई सामान्य चोटपटक लाग्यो । केही दिन त उड्नै सकिनन् ।
समय बिते । सँगै घाउ पनि निको भयो । अर्को हाँगामा गुड बनाएर बस्न थालिन् ।
अशक्त र कमजोर हुदैँ गएकी पोथी आजकल चारो खोज्न जान पनि सक्दिनथिन् । हरिकलाले केही दाना र पानी लगेर नजिकै राखिदिन्थिन तर पटक्कै खादैनथिन् पोथीले ।
एक्लोपन महसुस गरेकी पोथी बचेरालाई सम्झेर बसेको आभास हुन्थ्यो । झन् झन् गल्दै गएकी थिई ।
यो माया भन्ने चिज पनि अनौठो हुँदो रहेछ । मायाको आभासले मात्र बाँच्ने हिक्मत दिन्छ । कसैको माया छैन भने बाँच्ने इच्क्षाशक्ति मरेर जान्छ ।
मायाममता जीवित मानिस, जन्तु–जनावरलाई मात्र होइन, बोटबिरुवालाई पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ कि ? कुनै एक बिरुवा गमलामा रोपेर यत्तिकै छोड्यौ भने त्यो हुर्किन्न, सप्रिँदैन, त्यसलाई स्याहारसुसार चाहिन्छ । मायालु स्पर्शले जनावर र बोटबिरुवा दुवैलाई नयाँ जीवन दिन्छ ।
पोथी बिरामी थिई । यता, हरिकला पनि उमेर अवस्थाले गल्दै गएकी थिइन् ।
एक दिन बार्दलीमा बसेर समीको रुखतिर नजर पुर्याइन् हरिकलाले । त्यहाँ त चमत्कार पो भएछ । बचेरा गुँडमा फर्केर आएछन् । सानोमा पोथीले जसरी चारो खोजेर ल्याएर चुच्चो बाट खुवाउथिन्, अहिले बचेराले पोथीलाई त्यसैगरी खुवाएका थिए । बचेराको सामिप्यताले पोथी तङ्ग्रिँदै गएकी थिई ।
बाँच्नको लागि आफ्नाको माया चाहिने रहेछ । दानापानी त पहिला पनि दिएकी थिइन् हरिकलाले तर त्यो आफ्नोपन सन्तानको सामिप्यता थिएन पोथीलाई । अहिले पोथी पूर्ण रूपमा स्वस्थ भएकी थिइन् ।
पोथीका बचेरा आमा र गुँड सम्झेर फर्के जस्तै मेरा छोराछोरी पनि त्यही जहाजमा चढेर फर्किने दिन आउला कि न आउला भन्दै हरिकलाले आकाशमा उडिरहेको जहाजलाई हेरेर आँसुका ढिक्का टप्प झारिन् ।
(खजुरा, बाँके)