प्रकाश थापामगर
घाम लाग्छ कि झलमल्ल भनी मानिसहरू उठे
बिस्कुन सुकाउने जोहो गर्न आमाहरू जुटे
गाईबस्तु चराउन भनी दाइहरू कम्मर कसे
बज्यैहरू पटुकी कसी आँगनछेउ आई बसे
दस बज्यो, एघार बज्यो अब त बाह्र पनि बज्यो
घाम लाग्छ कि भन्ने आशमा घरै जुरुक्क उठ्यो
बज्न थाल्यो एक सबका मुहार मलिन भयो
परिवार जनमा निराशा छायो आशै व्यर्थ गयो
बर्खाको दिन छिन छिनमै बदलिने मौसम
सधैँ आउँथ्यो वर्षा ऋतु झुक्किए घरजन
यसपालि पनि झुक्किए सबै किन अचम्म ?
हुने गर्दछ कहिलेकाहिँ यस्तो नहोऊँ भर·
उज्यालो भयो भन्दैमा सधैँ घाम लागेको हुन्छ र ?
दिउँसो बाह्र बज्यो भन्दैमा प्रचण्ड गर्मी हुन्छ र ?
हर्लक्यै बढ्यो बाँस भन्दैमा आकाश कहाँ छुन्छ र ?
खहरे खोलाजति सबै बगी समुद्रमै कहाँ पुग्छ र ?
अधैर्य नबनौँ, अनायास कसैलाई विश्वास नगरौँ
माटो नभई बाँस उम्रन्न कोही भ्रममा नपरौँ
आउँछन् हजार घुम्ती गन्तव्यदेखि नआत्तिऊँ
पुग्नुछ है समुद्रसम्म खहरेखोलामै नरोकिऊँ
“साहित्यिक पदयात्रा तथा रचना वाचन कार्यक्रम भाग १” मा वाचित