काठमाडौं । काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालको लापरबाहीका कारण २८ महिने बालिकाको ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।
अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाको आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पत्तिले अस्पतालसँग क्षतिपूर्तिको माग गरेका छन्।
मंगलवार पत्रकार सम्मेलन गरी मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डा. जयदेव यादवसँग क्षतिपूर्ति माग गरेका हुन् ।
उनीहरुले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्न माग गरे । सामान्य रुघाखोकी लागेकी प्रशंशालाई उनीहरुले सो अस्पतालमा माघ २३ गते पुर्याएका थिए ।
उपचारको क्रममा डाक्टर यादवले सामान्य परीक्षण समेत नगराई औषधि चलाएको, कान्ति बाल अस्पतालमा उपचारका लागि रिफ्र लेटर पठाउँदा चिकित्सकको हस्ताक्षर र अस्पतालको स्टयाम्प समेत नभएको र अस्पतालले मेडिकले रेकर्ड समेत नदिएर आफ्नी छोरीको ज्यान गएको उनीहरुको आरोप थियो ।
अन्तिम अवस्थामा विरामी नबाँच्ने भएपछि महाराजगंजस्थित मेट्रो अस्पताल पुर्याएका थिए। त्यहाँ पुर्याएको दुई घण्टा पनि नवित्दै प्रशंशाको मृत्यु भएको थियो।
हिमाल अस्पतालका चिकित्सक यादवकै लापरबाहीका कारण छोरीको ज्यान गएको पीडित गंगा गौतमको बुझाई छ। उनले रुघाखोकी र ज्वरो आएको नानीलाई अस्पतालले सामान्य परीक्षण समेत नगराई औषधि दिएका कारण ज्यान गुमाउनुपर्ने अवस्था आएको बताए।
पीडित गौतमले छोरीको उपचारमा लापरबाही गर्ने सो चिकित्सकको लाईसेन्स छानबिन गर्न नेपाल मेडिकल काउन्सिलमा उजुरी पनि दिएका छन्।