धनगढी । कैलालीमा लैङ्गिक हिंसा विरुद्धको सोह्रदिने अभियान सञ्चालन भएको छ । कैलालीका सबै पालिकाले अभियानअन्तर्गत १६ दिनसम्म विभिन्न कार्यक्रम गर्दै छन् ।
पालिकाले जनचेतना जगाउन बस्तीस्तरमा भेला, छलफल, अभिमुखीकरण, सडक नाटक, विद्यालय स्तरमा खेलकुद, वादविवाद प्रतियोगिता, निबन्ध प्रतियोगिता जस्ता कार्यक्रम गर्न थालेका हो ।
हिंसा न्यूनीकरणका लागि यस्तो कार्यक्रम गरिएको हो । घरभित्र महिलाले भोगिरहेका हिंसाका घटना अन्त्य भएमा समाजमा शान्ति स्थापना हुने सरोकारवाला बताउँछन् ।
टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले हिंसा न्यूनीकरणका लागि नौओटै वडाका बस्तीस्तरमा प्रभावकारी ढङ्गले जनचेतना जगाउन योजना बनाएर काम गर्न थालेको बताउनुहुन्छ ।
‘समाजमा देखिने घटना परिघटनाले महिला पीडित भएको देखिन्छन् । परिवारभित्रको हिंसा हुन नदिएमा धेरै हिंसाका घटनामा कमी आउँछ’ शाह भन्नुहुन्छ– ‘त्यसैले बस्तीस्तरमा कार्यक्रम लैजान आवश्यक छ ।’
कैलालीमा अनेक बहानामा महिलामाथि विभिन्न खाले हिंसा भइरहन्छन् । इलाका प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा घरेलु हिंसाका ५४ उजुरी आएका छन् । चालु वर्षको अहिलेसम्म १६ उजुरी दर्ता भएका छन् ।
त्यस्तै, बहुविवाहका गत वर्ष दुई र यस वर्ष पनि दुई मुद्दा दर्ता भएका छन् । प्रहरीकहाँ जबर्जस्ती करणीका गत वर्ष १८ र यस वर्षको अहिलेसम्म तीन मुद्दा दर्ता भएका छन् । जबर्जस्ती करणी उद्योगका गत वर्ष दुई मुद्दा दर्ता भएका थिए यस वर्ष भने अहिलेसम्म कुनै घटना आएका छैन ।
एवम् प्रकारले गत वर्ष ४७ र यस वर्ष अहिलेसम्म १० जनाले आत्महत्या गरेको तथ्याङ्क छ । आत्महत्या गर्नेमा पुरुषको सङ्ख्या धेरै छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरजबहादुर खड्काले प्रहरीले घरेलु हिंसाका घटना सामान्य भए सम्झाउने, कानुनी व्यवस्थाबारे जानकारी दिएर मिलाउने गरेको बताउनुभयो । ‘गम्भीर प्रकृतिका घटना भए मुद्दा चलाउन सुझाव दिन्छौँ, पछिल्लो समय समाजमा पुरुष पनि पीडित भेटिन थालेका छन्’ उहाँ भन्नुहुन्छ– ‘समाजले पुरुषलाई पीडा राख्ने अवसर दिएको तर पुरुषलाई सहज नभएकाले समाजमा आत्महत्या गर्नेमा पुरुषको सङ्ख्या धेरै छ ।’ (रासस)





