काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मौसम सफा रहेकाले ढुक्कसँग मतदान गर्न आग्रह गरेको छ ।
मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो रहिरहेका बेला महाशाखाले यस्तो आग्रह गरेको हो ।
देशभरको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न पाउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँले आज मङ्सिर ४ गते देशैभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिनुभयो ।
‘आज देशभरको मौसम सफा रहेको छ । हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ तर त्यति धेरै असर हुने देखिँदैन । महाशाखाले आज दिनभरको मौसम सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न आग्रह गरेको छ’ उहाँले भन्नुभयो ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ । सोही प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।