प्युठान । सामाजिक सञ्जालमा ‘भेलुबाजे’ नामले चर्चित मेनबहादुर बुढा केही दिन अघी प्युठानमा एमाले उम्मेदवारको चुनाव प्रचारमा हिँडेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो । एमाले उम्मेदवार सूर्य थापासँगै घाँटीमा माला भिरेर देखिएका भेलुबाजेले एमालेको प्रचार गर्नुको वास्तविकता भने एक दिन नबित्दै खुलस्त भएको छ ।
भेलुबाजेलाई एमालेले पैसा दिएर प्रचारमा लगाएको उनैले स्वीकार गरेका छन् । भेलुबाजेको एमालेले दुई हजार दिएर एमालेले हिँडाएको भन्ने भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ ।
सामाजिक सञ्जालमा देखिएको भिडिओमा भेलुबाजेले आफूलाई माओवादी दाबी गरेका छन् । आफू एमालेमा नगएको बरु दुई हजार रुपैयाँ दिएर उनीहरुले लगेको उनले बताएका छन् ।
‘हैन एमालेमा गा’हैन । उनीहरुले जबर्जस्ती लार अनि एमालेमा आउनपर्छ भेलुबा भनेर भन्दाखेरी अब खै अब त्यो माते बेला के भनेँ, यताउता उल्ले जानकारी गरा होला काँ’ उनले भनेका छन् ।
‘पैसाहरु पनि केही देथ्यो ?’ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘देथ्यो देथ्यो । दुई हजार रुपैयाँ देथ्यो । त्यही दुई हजार रुपैयाँ देथ्यो । सूर्यमा हाल्दिनु भन्थ्यो । हुन्छ भनेँ के रे । मैले चोरेको हैन, ढाँटेको हैन । दियो खाएँ । उल्ले कांग्रेसले दियो भनेनि लत्काइदिने हो ।’
भेलुबाजेको यो भिडिओ सार्वजनिक भएसँगै धेरैले एमालेले पैसा दिएर मत किन्न खोजेको भन्दै कडा आलोचना गरेका छन् । कतिपयले निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएका छन् । निर्वाचन आचारसंहितामा मतदातालाई प्रलोभनमा पार्न नहुने स्पष्ट उल्लेख छ ।
‘निर्वाचन कसुर तथा सजाय ऐन २०७३’ को परिच्छेद ४ मा ‘निर्वाचनमा प्रभाव पार्ने सम्बन्धी कसूर तथा सजाय’ को व्यवस्था गरिएको छ । सो एनको परिच्छेद ४ (२०) प्रभाव पार्न नहुने उपशिर्षक अन्तर्गत (च) मा मतदातालाई कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने उल्लेख छ ।
सोही दफाको ४ मा मतदातालाई प्रलोभनमा पार्ने व्यक्तिलाई सजायको समेत व्यवस्था गरिएको छ । ‘(४) उपदफा (१) को खण्ड (ग), (घ), (ङ), (च), (छ) वा उपदफा (२) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ उल्लेख गरिएको छ ।
यद्यपी प्युठानको सन्दर्भमा भने मतदाताले नै आफूलाई पैसा दिएर एमालेको चुनाव चिह्नमा मत हाल्न भनेको भन्ने भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपनि निर्वाचन आयोगले हालसम्म त्यसप्रति कुनै कदम चालेको छैन ।