काठमाडौँ । नेपाल वरपर विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आज (मङ्गलबार) बाट मौसम क्रमिक रूपमा सुधार हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सो जानकारी दिएको छ ।
मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिक रूपमा सुधार हँुदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिनुभयो । उहाँले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताउनुभयो ।
मौसमविद् भट्टराईले भन्नुभयो– ‘मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ । आज कर्णाली र सुदूर पश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ । भोलिदेखि सुदूर पश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ । बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ ।’
जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डित रूपमा मात्रै भइरहेको छ । मनसुन बाहिरिन अझै एक साता लाग्ने महाशाखाले जनाएको छ ।
हाल नेपालमा भारतको हरियाणा वरपर रहेकोे न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश नं. १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं. १, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।