काठमाडौँ । नेपालमा प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो साता बाहिरिने मनसुन यस वर्ष अक्टोबरको दोस्रो साता बाहिरिने भएको छ ।
सो जानकारी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले दिनुभएको हो ।
हाल नेपालमा मध्यपश्चिम बङ्गालको खाडी र आसपासमा न्यूनचापीय क्षेत्रको असर रहेकाले मनसुन केही दिन लम्बिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ । यो वर्ष मनसुन बाहिरिने क्रममा बङ्गालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको असरले लम्बिएको हो ।’
अहिले राजधानी काठमाडौँ, पश्चिमको पोखरा (कास्की) लगायत देशका पूर्वी भेगको मौसम सामान्यतया सफा रहेको छ । पश्चिमका कर्णाली र सुदूर पश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कर्णाली र सुदूर पश्चिम प्रदेशमा अहिले वर्षा भइरहेको र मनसुन पनि सोही क्षेत्रमा केन्द्रित रहेको मौसमविद् पौडेलले बताउनुभयो ।
उहाँका अनुसार आगामी मङ्गलबारदेखि मौसममा सुधार आउने छ । मनसुन रहँदासम्म पानी पर्ने सम्भावना रहे पनि लगातारको झरी पर्दैन ।
महाशाखाको पछिल्लो तीन घण्टाको विवरणमा डडेलधुरामा १३ मिलिमिटर, बैतडीमा १८ मिलिमिटर, बर्दियामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ ।
जुन ५ देखि नेपालको पूर्वी भेग भएर सुरु भएको मनसुन करिब दुई साता ढिलो भइसकेको छ ।