“सुत्ने बेला नगरौँ भुल पनि,
सबले घरमा लगाऔँ है झुल पनि”
सन्धिखर्क । अर्घाखाँचीमा डेङ्गु सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि सचेतना अभियान थालिएको छ ।
सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण दर बढ्दै गएपछि सचेतना अभियान थालिएको हो ।
जिल्ला सुरक्षा समितिको आयोजनामा डेङ्गुुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तक्र्रिया गरिनुका साथै जिल्ला प्रहरी कार्यालयले विभिन्न सचेतनामूलक गीतसङ्गीत प्रस्तुत गरेको थियो ।
ट्राफिक प्रहरीका रणपाल सेनले “सुत्ने बेला नगरौँ भुल पनि, सबले घरमा लगाऔँ है झुल पनि” बोलको गीत प्रस्तुत गर्नुभएको थियो ।
सन्धिखर्क नगरपालिकाका जनस्वास्थ्य निरीक्षक धर्मराज पन्थीले डेङ्गुु सर्ने कारण, त्यसको लक्षण तथा रोकथामका उपायका बारेमा जानकारी गराउनुभएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले चाडबाड नजिकिएसँगै डेङ्गुको सङ्क्रमणको जोखिम झन् बढ्ने भएकाले यसको रोकथामका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो ।
सङ्क्रमण फैलिएका जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकताअनुसार सङ्क्रमण नियन्त्रण अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, शीतगङ्गा नगरपालिकाका प्रमुख छविलाल पौडेल, भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बञ्जाडे, प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजाल, विभिन्न कार्यालयका प्रमुख, सरोकारवाला तथा सञ्चारकर्मीको उपस्थिति थियो । (रासस)