समीर सिंह
२०७९ असोज ९ गते काठमाडौँबाट रोल्पाका लागि हिँडेको बस १० गते बिहानै भालुवाङमा राप्तीलाई स्पर्श गर्दै प्युठानतर्फ हुइकियो । प्युठान साहित्य महोत्सव सफल पार्न देशका विभिन्न कवि, लेखक, पत्रकार तथा साहित्यकारको यात्रा जारी थियो । ददेरी काटेपछि हामीले प्युठानी भूमिलाई छोइसकेका थियौ । बाङ्गेसाल काटेपछि माडीको तिरैतिर बसको यात्रा अगाडि बढ्दै गयो । स्वर्गद्वारीका मनोरम दृश्यहरूमा रमाउने उत्सुकताले पनि हाम्रो बसलाई प्युठानले छिटो छिटो तानिरहेको थियो ।
काठमाडौँको बसपार्कमा हाम्रो भेट हुँदा एकार्कासँग चिनिएका अनुहार पनि थिएनन् । राष्ट्रिय स्तरका कवि तथा साहित्यकार भए पनि हामीबिच भौतिक रूपमा चिनजान भएको थिएन । प्युठान साहित्य यात्राका लागि कवि प्रमोद प्रधान, नियात्राकार युवराज नयाँघरे, कवि प्रोल्लास सिन्धुलीय, पत्रकार तथा कवि ठाकुर बेल्बासेलगायत भावेश भुमरी, बैरागी जेठा, इन्द्रकुमार श्रेष्ठ, विमल पोख्रेल, नारायण शर्मा, विष्णुप्रसाद आचार्य, लक्ष्मी रिजाल उदय, मनु विक, ध्रुव बस्याल, दीपेन्द्रसिंह थापा, प्रगल्वा सिन्धुलीयको टोली काठमाडौँबाट हिँडेको थियो । पोखराबाट आएको टोली डा. कृष्णराज अधिकारी, अनिल श्रेष्ठ, भीम रानाभाट, नारायण मरासिनी तथा खगेश्वर सापकोटा मुग्लिङबाट हाम्रो यात्रामा जोडिनुभयो । भालुबाङमा बालसाहित्यकार विजयराज आचार्य पनि हाम्रो यात्रामा जोडिनुभयो । विस्तारै हामीमाझ चिनजान बढ्दै गयो ।

यात्रामा सहभागी धेरै जना कवि तथा साहित्यकारका लागि प्युठान जिल्ला नयाँ ठाउँ थियो । नयाँ भूगोल, नयाँ मान्छे भएता पनि त्यही स्थिति रहिरहेन । नागबेली जस्तो देखिने माडीको तिरैतिर यात्रा गर्दै गर्दा प्युठानको भूगोलसँग सबैको सामिप्यता बढ्दै गइरहेको थियो । हामी एकार्कासँग भावनात्मक रूपमा नजिक हुँदै गइरहेका थियौँ । दसैँका यात्रुको भिडभाड तथा रातभरिको यात्राको थकान भएता पनि प्युठानका मोहक दृश्यबाट हामी आनन्दित भइरहेका थियौँ । भोक र प्यासको समेत वास्तै नगरी स्वर्गद्वारीको फेदमा रहेको भिङ्ग्रीसम्म पुग्न हाम्रो यात्रा अगाडि बढिरह्यो ।
रोल्पा जाने बसलाई हामीले बिहान १० बजे बाई बाई गर्याैँ। प्युठान साहित्य परिषद्का अध्यक्ष नवराज आचार्य, सचिव ध्रुव गिरी, स्थानीय लीला खनाल हामीलाई स्वागत गर्न भिङ्ग्रीमा बसिरहनुभएको थियो ।

हाम्रो साहित्यिक पर्यटन यात्रा सारीमा रहेको भूबनोटको अवलोकन गर्ने थियो । प्युठानबाट आएको बसबाट हामी अलि अगाडि गयौँ । त्यसपछि झोलुङ्गे पुलबाट माडी नदी तर्दै हामी एकदम रमाइलो भूबनोटतर्फ अगाडि बढ्यौँ । प्रकृतिले प्युठानको सारीमा यति राम्रो भूबनोट बनाइदिएको रहेछ, हामी त हेरेको हेर्याै भयौँ । मिनिमुस्ताङ भनेर चिनिने सारीको भूबनोट एकदमै अचम्मको थियो । विभिन्न आकृतिका भूबनोट तथा विभिन्न गुफाको दृश्य हेर्दा हामीलाई त्यो ठाउँ छोडेर जानै मन लागिरहेको थिएन । फोटा, भिडियो बनाउने कार्य चली नै रह्यो । सबै कवि तथा साहित्यकारको एउटै मत थियो– जसरी पनि यति विशिष्ट भूबनोटको संरक्षण गरिनुपर्दछ ।

अन्ततः हामीले सारीको भूबनोटलाई पनि बाई बाई गर्यौँ। स्वर्गद्वारीको मनोरम दृश्यले हामीलाई पर्खेर बसिरहेको थियो । साहित्य महोत्सवमा सहभागी हुन प्युठानबाट पनि एक बस साहित्यकारहरू आइपुग्नुभयो । भिङ्ग्रीबाट १४ किलोमिटर यात्राका लागि हामी दुई बसमा लेखक, पत्रकार तथा साहित्यकार स्वर्गद्वारीका लागि अगाडि बढ्यौं । बसको यात्रा त्यति सहज रहेनछ । केही पर पुगेपछि जिपबाट यात्रा गर्नुपर्ने भयो । अन्ततः रात झमक्क हुँदा स्वर्गद्वारीको डाँडामा पुगेरै छाडियो । अझ लामो सिढीबाट उकालो चढ्न बाँकी नै थियो । फेरि पनि त्यहाँको मनोरम दृश्यमा रमाउँदै २,१२१ मिटर उचाइमा रहेको स्वर्गद्वारी आश्रममा पुगेरै छाड्यौँ ।

प्युठान साहित्य महोत्सवको उद्घाटनको कार्यक्रम भोलि मात्र थियो । भोलि हुने महत्त्वपूर्ण कार्यक्रमको प्रतिक्षा गर्दै स्वर्गद्वारी आश्रममा तयार पारिएको भोजन ग्रहण गर्दै अन्ततः निद्रालोकमा प्रवेश गरियो ।

लगभग दस वर्षपहिले स्वर्गद्वारी आइएको थियो । लामो समयपछि स्वर्गद्वारी पुग्दा परिवर्तन धेरै भइसकेको रहेछ । बिहानै उठेर चारैतिरका दृश्यलाई आआफ्नो मोबाइलमा कैद गर्न सबै साहित्यकारहरू व्यस्त हुनुहुन्थ्यो । स्वर्गद्वारी डाँडाबाट माडीसम्म पुग्ने चर्चित गुफा पनि यही रहेको छ । गुफाभित्र पसेर धेरै मानिस हराएको हुँदा यो गुफालाई बन्द गरिएको रहेछ । फेरि पनि हामी बिहानै त्यो गुफा हेर्न पुग्यौँ । डाँडामा रहेको हेलिप्याडमा पुगेर चारैतर्फको रमणीय दृश्य अवलोकन गर्दा आनन्दित भइयो । साहित्य महोत्सवका लागि दाङ, रोल्पालगायतका स्थानबाट पनि साहित्यकारहरू आइरहनुभएको थियो । जनगायक हेमराज आश्रम, रोल्पाबाट दामु मर्सिफूल र कविता उपाध्यायसाहित्य महोत्सवको उद्घाटनमा सहभागी हुन आइपुग्नुभयो । प्रमुख अतिथि प्रा.डा. गोपिन्द्र पौडेल तथा विशिष्ट अतिथि प्रा.डा. गीतु गिरी, लेखक डा. धनप्रसाद सुवेदी हिजो नै स्वर्गद्वारी पुगेर व्यवस्थापनमा लागिरहनुभएको थियो ।

अन्ततः बिहान १० बजे प्रा.डा. गोपिन्द्र पौडेलले पानसमा बत्ती बालेर प्युठान साहित्य महोत्सवको उद्घाटन भएको घोषणा गर्नुभयो । विभिन्न साहित्यकारले कविता वाचन गर्नुभयो । जनगायक हेमराज आश्रमले “जात फरक भए के भो मन त नेपाली हो” बोलको गीत गाउँदा सबैलाई मन्त्रमुग्ध बनायो । विमल पोख्रेल, प्रोल्लास सिन्धुलीय, अनिल श्रेष्ठ, ठाकुर बेल्बासे, विष्णु आचार्य, मनु विक, भीम रानाभाटलगायत स्वर्गद्वारीका बटुकका कविता वाचन सुन्दा सबैलाई एकदमै उत्साहित बनायो । नगर प्रमुख टेकप्रसाद भण्डारीलगायत प्रमोद प्रधान, विजयराज आचार्य, दामु मर्सिफूलले प्रवचन दिनुभयो । विजयको तिखो प्रवचनले कसैकसैलाई छोएको अनुभूति भयो । प्रगतिशील लेखक सङ्घको तर्फबाट मैले पनि शुभकामना दिएँ । महोत्सवको लागि भनेर मैले बालोरी छन्दमा एउटा कविता लेखेको थिए । त्यो कवितासमेत सुनाउँदा कार्यक्रम सञ्चालकले मलाई कवि समीर सिंह भनेर सम्बोधन गरिदिनुभयो । अहिलेसम्म मेरो परिचय एउटा लेखकको रूपमा, एउटा दर्शनशास्त्रीको रूपमा थियो, अब म कवि पनि बन्न थालेको जस्तो अनुभूति भयो ।

प्युठान साहित्य महोत्सवको तीन दिने कार्यक्रमअन्तर्गत भोलिपल्ट हाम्रो कार्यक्रम ओखरकोट हुने हुँदा आज नै हामी मच्छीका लागि प्रस्थान गर्नु थियो । दुई बस साहित्यकारहरू माडीको पुल तर्दै चेरनेटाको उकालो चढ्दै अगाडि बढदै गयौँ । बाग्दुलाको झिमरुकको पुल काट्दै कच्ची बाटोको समेत बेवास्ता नगर्दै हाम्रो यात्रा अगाडि बढ्दै गयो । दिनभरिका मिठा मिठा पलको स्मरण तथा कुराकारी, ठट्टामा यती रमाइयो कि तीन घण्टा कति बेला पूरा गरियो, थाह नै भएन । अन्ततः मच्छी पुगेर साहित्य महोत्सवको पहिलो दिनलाई विश्राम दिइयो ।
अर्को दिन बिहाने सात बजे मच्छी, ढाँड, आहालखोला हुँदै हाम्रो बस ओखरकोटको उकालो चढ्न थाल्यो । अन्ततः मिनी ग्रेटवालको रूपमा चिनिले कोटको प्रवेशद्वारमा पुग्यौँ । ओखरकोट पर्यटकीय विकास देखेर सबै साहित्यकार आश्चर्यचकित हुनुभयो । ओखरकोटको आफ्नै मनोरम प्राकृतिक दृश्य, अनि कोट जाने सिढीले त्यहाँको दृश्यलाई झनै आकर्षित बनाइरहेको थियो ।

कोटमा पुगेर हाम्रो दोस्रो साहित्यिक कार्यक्रम सुरु भयो । मदन पुरस्कार विजेता युवराज नयाँघरेले नियात्राका बारेमा बोल्नुभयो । हेमराज आश्रम र लक्ष्मी रिजाल उदयले जनवादी गीत गाउनुभयो । कवि इन्द्र श्रेष्ठ, बैरागी जेठा, खगेश्वर सापकोटा, कविता उपाध्यायलगायतले कविता वाचन गर्नुभयो । कविता वाचनका लागि सञ्चालक सुमन सुवेदीले मलाई पनि निम्ता गर्नुभयो । कविको रूपमा मेरो परिचय भइसकेको थियो । अनि मैले पनि “त्यसैले तिमी तिमी हौ र म म हुँ” शीर्षकको कविता वाचन गरेँ । सिद्धिमान जिसी सरले ओखरकोटको बारेमा प्रवचन दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख धर्मबहादुर जिसी हुनुहुन्थ्यो । ओखरकोटबाट फर्कदा ढाँडको ढुङ्गेबगैचाले समेत साहित्यकारहरूलाई मन्त्रमुग्ध बनायो ।
काठमाडौँ, पोखरा, रोल्पाबाट आउनुभएका साहित्यकार हाम्रा बाजे खिमविक्रमले बनाएको कौछेको घर हेर्ने रहर गरिरहनुभएको थियो । त्यहाँ

एकपटक पु¥याउने सल्लाह पनि भइरहेको थियो तर मच्छी पुगेर खाना खाँदासम्म निकै ढिलो भइसकेको थियो । हामीलाई खलङ्गाको नेवार समुदाय स्वागतका लागि पर्खिरहनुभएको थियो । अन्ततः मच्छीलाई बाई बाई गर्दै हाम्रो टोली खलङ्गाका लागि अगाडि बढ्यो । हामी प्युठानको सदरमुकाम पुग्दा जिल्ला समन्वय समितिका प्रमुख धर्मबहादुर जिसी, गाउँपालिका उपप्रमुखलगायत स्थानीय नेवार समुदायले सम्पूर्ण साहित्यकारलाई फूलमाला तथा खादाले स्वागत गर्नुभयो । स्थानीय लाखेनाच, स्कुलका विद्यार्थीको नृत्यले खलङ्गाको महोत्सवलाई झनै आकर्षक बनायो । नेवारीहरूको स्थानीय खाना समयबाजी खुवाउँदै अतिथि सत्कारसमेत गरिएको थियो ।
तेस्रो दिन बिहानै मल्लरानीतर्फ हाम्रो साहित्यिक यात्रा अगाडि बढ्यो । एकदमै आकर्षक स्थान तर पर्यटक स्थलका लागि अझ थुप्रै मिहिनेत गर्नुपर्ने जस्तो अनुभूति भयो । अतिथि साहित्यकारका लागि भावेश भुमरीको घरमा खिर र तरकारी पाक्दै गरेको रहेछ । उहाँहरूको आतिथ्य स्वीकार गर्दै हामी फेरि बाग्दुलाको समापन कार्यक्रमतर्फ प्रस्थान ग¥यौ । बिहानको अवधिमा लगभग दुई घण्टाका हाम्रो पैदल यात्रा नै रह्यो । बिहानको यात्रामा रोल्पाबाट आउनुभएका दामु मर्सिफूल, युवराज नयाँघरे, डा. धनप्रसाद सुवेदीसँगको मिठा मिठा गफमा भुल्दै हाम्रो पैदलयात्रा कसरी बित्यो, थाह नै भएन ।

बाग्दुलामा भएको समापन कार्यक्रममा जिल्लाका युवा प्रतिभाबाट रचना वाचन भयो । सयमको यस्तो हतारो भयो कि कतिपय सृष्टाले रचना वाचन गर्ने अवसर नै पाउनुभएन । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गीतु गिरी हुनुहुन्थ्यो । डा. धनप्रसाद सुवेदीले कविताको विषयमा प्रवचन दिनुभयो । लुम्बिनी साहित्य परिषद्का अध्यक्ष ऋषि आजादले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्थानीय विद्यालयका बालबालिकाको नृत्यले कार्यक्रमलाई एकदमै आकर्षित बनाइरहेको थियो । हेमराज आश्रमको गीतले सबै साहित्यकारलाई नाच्न बाध्य बनायो । त्यो नाचमा म छुट्ने कुरै भएन । समापनको दिनमा मजाले छमछमी नाचियो ।
जिल्लाबाहिर जाने साहित्यकारको बस बेलुका ४ बजे छुट्दै थियो । हतार हतार सबै साहित्यकारलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर फेरि फेरि भेट्ने वाचा गर्दै बिदाइ गरियो ।

प्युठान साहित्य महोत्सवको तयारीका सन्दर्भमा २०७९ साउन २३ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानको हलमा एउटा बृहत् बैठक भएको थियो । सो बैठकमा साहित्यकार मोहनविक्रम सिंहले ग्रामीण पर्यटनसँग त्यहाँका जनताको भाषा, संस्कृति र लोकजीवन जोडिएको हुँदा यो विषयलाई विशेष महत्त्व दिनुभएको थियो । प्युठान साहित्य महोत्सवमा समेत सक्रिय भूमिका निभाउने सोचाइमा हुनुहुन्थ्यो तर पार्टीको विशेष कार्यक्रम तथा डेङ्गुको आक्रमण गर्दा उहाँ यो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन सक्नुभएन । फेरि पनि बिच बिचमा फोन गरेर महोत्सवको बारेमा जानकारी लिइरहनुभएको थियो । त्यस्तै बृहत् बैठकमा साहित्यकार मणि थापा, राजनीतिज्ञ लीलामणि पोख्रेल र डा. गोविन्दराज पोख्रेलले पनि सकारात्क भूमिका हुने आश्वासन दिनुभएको थियो ।

यद्यपि कपिपय पक्षबाट साहित्य महोत्सवको बारेमा नकारात्मक प्रचारबाजी पनि भयो । कुनै पार्टीको चुनावी प्रचारका लागि महोत्सव गर्न लागेको भनेर दुस्प्रचार गरियो तर महोत्सवको अवधिभरि राजनीति तथा चुनावको नामसमेत लिइएन । जुनसुकै विचारबाट प्रतिनिधित्व गरे पनि सबैको बिचमा एकदमै राम्रो हार्दिकता कायम भयो । यस प्रकारको हार्दिकता कायम गर्न सक्नु पनि ठुलो उपलब्धि हो जस्तो लाग्छ ।
प्युठान जिल्लामा पहिलोपटक साहित्य महोत्सव आयोजना गरिएको थियो । यो एउटा ठुलो चुनौतीपूर्ण कार्य थियो । समय पनि त्यति अनुकूल थिएन ।
फेरि पनि केही कमी–कमजोरी भए पनि महोत्सव भव्य रूपमा सम्पन्न भयो । जिल्लाको विकास र समृद्धिका लागि यस प्रकारको साहित्यिक गतिविधिको महत्त्वपूर्ण भूमिका हुन सक्छ । देशका विभिन्न स्थानबाट आएका साहित्यकार, पत्रकार, लेखकबाट पनि धेरै कुरा सिक्ने अवसर प्राप्त भएको छ । उहाँहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै जानुपर्दछ । एउटा महत्त्वपूर्ण कार्यको थालनी भएको छ । यो कार्यलाई अझ व्यवस्थित रूपमा निरन्तरता दिँदै जानुपर्दछ ।
