पुँजीवादको नेतृत्वमा भइरहेको प्रकृतिको विनाश आज हाम्राअगाडि विकराल सङ्कट बनेर उभिएको छ । नाफाको भोकमाथि उभिएको यो पुँजीवादी व्यवस्थाले पहिलेदेखि नै समाजको ठुलो भागलाई मानवीय जीवन दिन सक्ने क्षमता गुमाइसकेको थियो तर अहिले आफ्नो मरणासन्न अवस्थामा यो व्यवस्था प्रकृति विनाशको त्यो उचाइसम्म पुगेको छ, जसले गर्दा सम्पूर्ण मानव समुदायका अगाडि अस्तित्वको सङ्कट उत्पन्न भएको छ ।
चर्को गर्मी, डढाउँदै गरेको लु, हाड जमाउने गरी शीतलहर, अनियमित वर्षा (अनावृष्टि, खण्डवृष्टि, अतिवृष्टिसमेत) र नियमति खडेरी जस्ता परिघटना पहिलेभन्दा अहिले कैयौँ बढी विनाशकारी बन्दै गइरहेका छन् । बाढी नियमित आउने गरेको छ र चक्रवात आँधी, तीव्रतापूर्वक पग्लिरहेको हिउँ, विषालु वायु र प्रदूषित पानी—सबै प्रकृतिको विनाशका अलग अलग रूप हुन् ।
हुन त प्रकृतिको विनाशले सम्पूर्ण मानव समाजका लागि अस्तित्वको सङ्कट उत्पन्न गर्दछ तर तात्कालिक रूपमा यसको सबैभन्दा बढी बोझ मिहिनेतकश जनताले सहनुपर्दछ । मिहिनेतकश जनतासित न एयर कन्डिसनर हुन्छ, न रुमहिटर, न एयर प्युरिफायर वा वाटर प्युरिफायर नै । प्रत्येक पाइलामा मजदुर वर्ग र मिहिनेतकश जनताको प्रत्यक्ष सामना पर्यावरणीय विनाशसित हुन्छ, जसले कुनै खुङ्खार राक्षसले जस्तै उनीहरूमाथि आक्रमण गरिरहेको हुन्छ । कारखाना, वर्कसपमा बिहानसाँझको खानाका लागि ढाड बाङ्गो हुने गरी मिहिनेत गरेपछि जब मिहिनेतकश जनता कार्यस्थलबाट बाहिर आउँछन्, उनीहरूको सामना लु, दुर्गन्ध, फोहोर पानी, विषालु हावासित हुन्छ ।
पृथ्वीको तापक्रम बढ्नु (ग्लोबल वार्मिङ) र त्यसको फलस्वरूप उत्पन्न जलवायु परिवर्तन आज प्रकृति विनाशको सबैभन्दा महत्त्वपूर्ण अभिव्यक्तिमध्ये एक हो । पृथ्वीको औसन तामक्रममा वृद्धि वा ग्लोबल वार्मिङ मुख्यतः कार्बन उत्सर्जनको तीव्र वृद्धिदर र जङ्गलको अन्धाधुन्ध फडानी (डिफोरेस्टेसन) को परिणाम हो । उत्तर भारतको मैदानी इलाकामा पछिल्लो वर्ष चलेको भयङ्कर लुको मुख्य कारण ग्लोबल वार्मिङ नै हो । सरकारी सूत्रका अनुसार यस वर्ष भारत र पाकिस्तानमा चलेको भयङ्कर लुको कारणले गर्दा लभगग १०० मानिसको मृत्यु भइसकेको छ । वैज्ञानिकहरूको भनाइ छ, यदि ग्लोबल वार्मिङ यसरी नै बढ्दै गयो भने यो शताब्दीको अन्तसम्म पृथ्वीको तापक्रम औद्योगिक क्रान्तिभन्दा
पहिलेको स्तरभन्दा दुई डिग्रीसम्म बढ्ने छ । यसबाट लुको तीव्रता र नियमितता ३० प्रतिशत बढने छ ।
मिहिनेतकश जनताको जिन्दगीलाई बेहाल गर्नमा गर्मी र लुको जति योगदान छ, त्यति नै ठुलो हात आद्रताको पनि छ । आद्रताले गर्मीलाई अरू बढी ज्यानमारा बनाइदिन्छ । जब गर्मी बढ्न थाल्दछ, शरीरभित्रको तापक्रमलाई सुरक्षित राख्नका लागि पसिना आउँछ । हावाले हाम्रो छालाबाट पसिना सोस्दछ । यसबाट शरीरमा शीतलताको प्रभाव उत्पन्न हुन्छ । यसरी हाम्रो शरीर चिसो हुन जान्छ तर यदि हावामा पहिलेदेखि नै पर्याप्त चिसोपना यथावत् छ भने हावाले हाम्रो शरीरबाट पसिना सोस्न सक्दैन । यसबाट हाम्रो शरीरभित्रको प्राकृतिक रूपमा चिसो बनाउने तन्त्रले काम गर्न बन्द गरिदिन्छ । फलस्वरूप हाम्रो शरीरभित्रको तापक्रम बढ्न थाल्दछ । यदि यो प्रक्रिया केही घण्टा मात्रै चल्यो भने हाम्रो मृत्यु हुन सक्दछ । हाम्रो दैनिक जीवनको अनुभबाट हामी जान्दछौँ, खालि चर्को गर्मी वा लुले त्यति कठिनाइ हुँदैन, जति कठिनाइ गर्मी र आद्रता दुवै एकसाथ आइपर्दा हुन्छ ।
ग्लोबल वार्मिङका कारण हावाको तापक्रम बढ्छ । तातो हावाले चिसो हावाको तुलनामा वायुमण्डलमा धेरै आर्दता उत्पन्न गर्दछ । अतः वायुमण्डमा बढ्दो आद्रता र त्यसबाट हुने कठिनाइको पछाडिको मुख्य कारण ग्लोबल वार्मिङ नै हो ।
ग्लोबल वार्मिङका कारण जहाँ प्रत्येक वर्ष लुको स्थिति धेरै दिनसम्म अर्थात् धेरै तीव्रताका साथ मानिसहरूलाई आफ्नो घेरामा लिइरहेको छ, त्यहीँ अर्कोतर्फ प्रत्येक वर्ष शीतलहरको प्रकोप पनि बढ्दै गइरहेको छ । सन् १९८० देखि २०१८ को माझमा शीतलहरका कारणले भएको मृत्यु लुको कारणले भएको मृत्युभन्दा कैयौँ धेरै थियो । सरकारी तथ्याङ्कानुसार सन् २०२० मा शीतलहरबाट १५२ मानिसको मृत्यु भयो । जनवरी २०२१ मा उत्तर भारतका राज्यहरूमा औसत मासिक तापक्रम सामान्यभन्दा दुईदेखि चार डिग्री कम थियो ।
प्रष्ट छ, लु जस्तै शीतलहरबाट मर्नेहरू पनि अधिकांश मिहिनेतकश परिवारबाट नै छन् । वैज्ञानिकहरूका अनुसार शीतलहरको बढ्दो अवधि र तीव्रताको मुख्य कारण ग्लोबल वार्मिङ र खासगरी आर्कटिक (पृथ्वीको उत्तरी धु्रव) उष्मीकरण हो । अहिलेसम्म यो स्थापित तथ्य मान्ने गरिन्छ, आर्कटिक वृत्त पृथ्वीको बाँकी भागको तुलनामा दुई गुना तीव्रताका साथ तातो भइरहेको छ तर पछिल्लो साल नासासित जोडिएका केही वैज्ञानिकको नयाँ खोजानुसार आर्कटिक वृत्त वास्तवमा दुई गुना होइन, चार गुना तीव्रताका साथ तातो भइरहेको छ । ग्लोबल वार्मिङ र आर्कटिक वृत्तको उष्मीकरणको कारण भूमण्डलीय वायु प्रवाहको ढाँचामा परिवर्तन हुन्छ र शीतलहर र लु दुवैको अवधि, नियमितता र तीव्रतामा वृद्धि हुन्छ ।
लान्सेट स्वाथ्य जर्नलमा सन् २०२१ मा प्रकाशित रिपोर्टानुसार भारतमा असामान्य तापक्रमका कारण प्र्रत्येक वर्ष सात लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ । यसमध्ये ६.५ लाख मानिसको मृत्यु असामान्य चिसो तापक्रमबाट र सरदर ८० हजार मानिसको मृत्यु असामान्य गर्मी तापक्रमका कारणले हुन्छ । असामान्य तापक्रमका कारण मर्ने मानिसहरू सामान्यतः समाजको सबैभन्दा तल्लो तप्का अर्थात् विपन्न वर्गबाट आउँछन् । यसमा सबैभन्दा बढी सडकपेटीमा सुत्ने, रिक्सा वा ट्रली चलाउने, लुका बाबजुद मजदुरी गर्ने, निर्माण कार्यमा लागेका मानिसहरू समावेश छन् । दैनिक १४ घण्टा कारखानामा हाड पगाल्ने गरी मिहिनेत नगर्ने हो भने उनीहरूलाई बिहानसाँझका लागि आवश्यक खान्की उपलब्ध हुन सक्दैन । उनीहरूको शरीर पुस्तौँदेखिको गरिबी, भोकमरी र कुपोषणका कारण पहिलेदेखि नै जर्जर भइसकेको छ । त्यसमाथि
शरीरमा एउटा कमिज वा पाताले खास्टोले शीतलहरबाट उनीहरूको रक्षा गर्न सक्दैन ।
लु र शीतलहरको अतिरिक्त ग्लोबल वार्मिङका कारण एउटा अझ भयानक विपत्ति आइलाग्दछ । यो विपत्ति हो ः हिमनदी र धु्रवीय हिमशृङ्खला (पोलर आइस क्याप्स) तीव्रतापूर्वक पग्लिनु र सरदर समुद्री सतह (मिन सी लेभल) लगातार बढ्दै जानु । अनुसन्धानानुसार भविष्यको केही दशकभित्र सङ्घाई, हङकङ, ओसाका, रिओ, एम्सटर्डम, अलेक्सान्द्रिया जस्ता संसारका कैयौँ तटवर्ती सहरका ठुलो भूभाग जलमग्न हुने सम्भावना छ । भारतको मुम्बई, चेन्नई, विशाखापटनम, कोची, तिरुवनन्तपुरम आदि सहरका केही भूभाग सन् २०५० सम्म जलमग्न हुन सक्छन् ।
यो प्रष्ट छ, जब यी सहरमा समुद्रको पानी आउन थाल्ने छ, तब यसको खतरा यी सहरका मजदुर र मिहिनेतकश जनताले नै झेल्नुपर्ने छ ।
पुँजीपति वर्ग र तिनका नोकरचाकर खतरा महसुस हुँदासाथ सहरबाट भागेर कहिँ टाढा सुरक्षित स्थानमा ऐसआरामसँग बसेका हुने छन् । पानीमा डुब्न र पानीको विनाश झेल्नका लागि मिहिनेतकश जनता मात्र बाँकी रहने छन् ।
समुद्रको जलस्तर बढेसँगै आउने बाढीका कारण समुद्रको नुनिलो पानी जमिनले सोसेर भित्रभित्रै टाढा टाढासम्म पुग्ने छ । यसबाट भूमिगत पानी पनि नुनिलो हुन जाने छ । त्यसले गर्दा सफा पिउने पानीको उपलब्धताको समस्याले भयङ्कर वा विकराल रूप लिने छ किनकि अहिले नै सफा पिउने पानीको उपलब्धता गम्भीर समस्या बनिसकेको छ भने त्यतिखेर कस्तो अवस्था हुने होला ? त्यसको कल्पनासम्म गर्दा हामी लगलग काम्ने अवस्था छ । पिउने पानीबिना जीवनको कल्पनासम्म गर्न अप्ठेरो छ । भूमिगत जलस्तरको नुनिलोपनाका कारण तटीय इलाकाको कृषि उत्पादनमा पनि प्रतिकूल प्रभाव पर्ने निश्चित छ ।
पछिल्लो कैयौँ वर्षदेखि हामीले देखिरहेका छौँ, मनसुन अवधिमा पहिले पहिले जति वर्षा हुन्थ्यो, त्यसको तुलनामा अहिले अत्यन्त कम वर्ष हुन थालिरहेको छ । त्यहीँ अर्कोतर्फ, बाढीको नियमितता र तीव्रता बढ्दै गइरहेको छ । अर्को शब्दमा भन्नुपर्दा भारतको धेरैजसो इलाकामा लामो समयदेखि अत्यन्त थोरै वर्षा भइरहेको छ र त्यसमध्ये केही इलाका यस्ता छन्, जहाँ अचानक केही दिनका लागि मुसलधारे वर्षा भएको छ । उक्त मुसलधारे वर्षाका कारणले बाढीको स्थिति उत्पन्न हुन्छ ।
केही दिनपहिले आसाममा आएको बाढी यस्तै प्रकृतिको एउटा प्रतिनिधिमूलक उदाहरण थियो । सरकारी तथ्याङ्कानुसार यस वर्ष मे महिनामा आएको बाढीबाट ३० भन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यस्तै, जुन महिनामा आएको बाढीबाट अहिलेसम्म १२० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने थुप्रै मानिसहरू अहिले पनि हराइरहेको अवस्था छ । जुन महिनामा जुन जिल्लाहरू बाढीको प्रभावमा आएका थिए, त्यसमध्ये कैयौँ जिल्ला यस्ता छन्, जहाँ बाढी आउनुभन्दा एक हप्तापहिले सम्म पनि वर्षाको अभावका कारण खडेरी पर्ने अनुमान लगाइएको थियो । पछिल्लो वर्ष जुन महिनामा आसाममा सामान्यभन्दा २८ प्रतिशत कम वर्षा भएको थियो तर यस वर्षको जुन महिनामा सामान्यभन्दा ८३ प्रतिशत बढी वर्षा भएको छ । सन् २०१९ मा मुम्बईमा आएको बाढी र सन् २०१८ मा केरलमा आएको बाढी (जसमा ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो) भन्दा पहिले पनि त्यहाँ लामो समयसम्म कम वर्षा भएको थियो । सन् २०१६ मा मध्यप्रदेश र राजस्थानमा पनि बाढीभन्दा केही हप्ता पहिलेसम्म खडेरीको स्थिति कायम भएको थियो ।
खडेरी र बाढी सँगसँगै आइपर्नु अर्थात् अनियमित वर्षा हुनु ग्लोबल वार्मिङ र बदलिँदो जलवायु परिवर्तनकै अभिव्यक्ति हुन् ।
अत्यधिक नियमित र तीव्र बन्दै गएको लुको तातो हावाले बङ्गालको खाडीबाट दक्षिणी–पश्चिमी हावालाई तान्दछ । त्यसले आसामसमेत उत्तरपूर्वमा मुसलधारे वर्षा गराउँछ । ग्लोबल वार्मिङका कारण बङ्गालको खाडीभन्दा माथिबाट बग्ने यो अपेक्षाकृत तातो हावा चिसो सोस्दै अगाडि बढ्छ । त्यसले पछि बढी वर्षा गराउँछ ।
अर्कोतर्फ, आसाममा प्रत्येक वर्ष आउने बाढीका पछाडिको एउटा अहम् कारण त्यहाँ भइरहेको जङ्गलको अन्धाधुन्ध फडानी पनि हो । आसाम त्यो राज्यमध्ये पर्दछ, जहाँ गत दुई दशकमा सबैभन्दा बढी वनफडानी भएको छ । वनफडानीका कारण पृथ्वीको सतहमा खस्ने वर्षाको पानी तीव्रतापूर्वक बग्न थाल्दछ । त्यसैले वनफडानीका कारण भूक्षय पनि बढ्छ । त्यसले गर्दा ब्रह्मपुत्र नदीको चौडाइ बढ्दै गइरहेको छ । नदीको पिँधमा बालुवा जम्मा हुनुको कारण नदीको जलस्तर पनि तीव्रतापूर्वक माथि उठिरहेको छ । आसाममा जुन वनफडानी र सिमसार क्षेत्रको अतिक्रमण भइरहेको छ, यो प्रत्यक्ष रूपमा पुँजीपतिको नाफाको भोकको पूर्तिका लागि भइरहेको छ । त्यसको अतिरिक्त योजनाविहीन सहरीकरण पनि यस्तो अतिक्रमणका लागि जिम्मेवार छ । दुवै स्थितिमा पुँजीवादी व्यवस्था नै त्यसका लागि उत्तरदायी छ । योजनाविहीन सहरीकरणले पनि पुँजीवादी व्यवस्थाभित्र अन्तर्निहित अराजक उत्पादन र अराजक विकासलाई नै बताउँछ ।
जे होस्, मुख्य कुरा यही हो– पुँजीवादका कारण भइरहेको प्रकृतिको विनाश नै आज प्राकृतिक विपत्ति† जस्तै : बाढी, खडेरी आदि अत्यधिक विनाशकारी हुँदै जानुको प्रमुख कारक हो । भारतमा सन् २०११ देखि २०२० माझ प्रत्येक वर्ष सरदर १,५०० मानिस बाढीमा परेर मरेका छन् (धेरैजसो यो सरकारी तथ्याङ्क हो, निश्चित रूपमा वास्तविक तथ्याङ्कमा मृतकको सङ्ख्या यसभन्दा धेरै छ) । यदि यसको तुलना सन् १९७१ देखि १९८० माझ प्रतिवर्ष आएका बाढीसित गर्ने हो भने यस अवधिमा सरदर ९७० जना मानिस मारिएका छन् । यो तथ्याङ्कबाट स्पष्ट हुन्छ, बाढीको घटनामा पहिलेको भन्दा बढी सङ्ख्यामा पुनरावृत्ति आएको छ र यसको विकराल स्वरूप कैयौँ गुना बढेको छ ।
यदि हामी प्रश्न गरौँ, प्रत्येक वर्ष बाढीमा डुबेर मर्ने १,५०० मानिस को हुन् वा अहिले आसाममा परेका १२० मानिस को हुन् ? तब यसको उत्तर पाउन त्यति बढी अप्ठेरो छैन । समाचार र समाचार पत्र पढेर हामी बुझ्न सक्दछौँ, झोलामा एक दुईओटा सामान, केही भाँडाकुडा, केटाकेटीलाई काँधमा बोकेका हामी जस्तै उनीहरू पनि सामान्य मजदुर वा मिहिनेतकश मानिस हुन्, जसले सरकारी राहतको आशामा राहत शिविरमा बोझिलो समय व्यतित गरिरहेका छन् । पानी सुक्दै जाँदा उनीहरू फेरि बिहान–बेलुकीको दालभातका लागि ढाड भाचिने गरी मिहिनेत गर्न थाल्ने छन् । यतिखेर उनीहरू राहत शिविरमा भोकैप्यासै बसेर आफ्नो हानिनोक्सानीबारे अनुमान लगाइरहेका होलान् ।
मनसुन र मनसुनभन्दा पहिले भएको वर्षाका कारणले कैयौँ स्थानमा बाढी आइरहेको छ । साथै हिमाचल प्रदेश, उत्तराखण्ड र जम्मुकस्मिरमा मे, जुन र जुलाई महिनामा बादल च्यातिनुका कारण अचानक बाढी (फल्यास फ्लुड) आउँछ । बादल च्यातिनुका कारणले आउने आकस्मिक बाढीले भूस्खलन उत्पन्न गर्दछ । त्यसका कारणले प्रत्येक वर्ष लगभग हजार जना मानिसको मृत्यु हुन्छ । ग्लोबल वार्मिङ र हिन्द महासागरमा पानीको तापक्रम बढ्नुको कारण धेरै चिसा विशालकाय बादल हावाको चापमा बग्दै बग्दै हिमालयतर्फ पुग्दछन् । धेरै चिसो हुनुका कारण जब यी बादल च्यातिन्छन्, तब बाढी र भूस्खलन कैयौँ बढी विनाशकारी बन्न पुग्दछन् ।
ग्लोबल वार्मिङका कारण महासागरस्थित पानीको सतहको तापक्रममा वृद्धि र वायुमण्डमा विद्यमान जलवाष्प (वाटर भेपर) को अनुपात दुई गुना बढ्नुबाट संसारभरि चक्रवात आँधी र तुफान पहिलेभन्दा बढी नियमित रूपमा आउन लागेका छन् । यसको तीव्रतामा अभूतपूर्व पुनरावृत्ति भएको छ । यस दौरान अति भयङ्क्रर चक्रवात आँधीमा १५० प्रतिशतले वृद्धि भएको पाइएको छ ।
भारतको विज्ञान तथा प्रविधि विभागको एउटा बयानानुसार पछिल्लो चार दशकमा उत्तरी हिन्द महासागरमा भयङ्कर चक्रवात आँधीको तीव्रतामा पनि उल्लेखनीय वृद्धि भएको छ । एउटा रिपोर्टानुसार विश्वव्यापी स्तरमा तीव्र उष्ण कटिबन्धीय चक्रवात तुफानको नियमितता सन् २०५० सम्म दुई गुना वृछि हुने छ र त्यसको हावाको गतिमा २० प्रतिशतसम्मको वृद्धि हुने छ । हिमनदी र धुव्रीय हिमशृङ्खला पग्लिँदा समुद्रको जलस्तरमा जुन वृद्धि भएको छ, त्यसबाट पनि चक्रवात आँधीको कारणले उत्पन्न हुने बाढी अरू बढी विनाशकारी बन्न गएको देखिन्छ ।
जस्तो कि माथि नै उल्लेख भइसकेको छ, आज भारतमा एकातिर बाढीको नियमितता र तीव्रता बढ्दै गइरहेको छ भने अर्कोतर्फ, खडेरी अरू व्यापक बन्दै गइरहेको छ । यो प्रक्रियाले नयाँ नयाँ इलाकालाई आफ्नो प्रभावक्षेत्रभित्र ल्याउँदै गइरहेको छ ।
भारत आज भयङ्कर रूपमा खडेरीग्रस्त देशको श्रेणीमा समावेश भएको छ । सन् २०२० देखि २०२२ को माझमा देशको दुईतिहाइ भाग खडेरीको प्रभावमा आएको थियो । सन् १९९७ देखि अहिलेसम्म देशमा खडेरीयुक्त इलाकामा ५७ प्रतिशतले वृद्धि आएको छ । भारतको एकतिहाइ जिल्ला यस्ता छन्, जसले पछिल्लो एक दसकमा चार पटकसम्म खडेरीको सामना गरिसकेका छन् । भारतमा प्रत्येक वर्ष पाँच करोड मानिस खडेरीबाट प्रभावित भइरहेका छन् ।
पछिल्लो दुई दसकमा संसारभरि खडेरीको नियमितता र अवधिमा २९ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राष्ट्र सङ्घको एउटा रिपोर्टानुसार खडेरीका कारणले आज लगभग २३० करोड मानिसले जलसङ्कटको सामना गरिरहेका छन् । त्यसमध्ये १.६ करोड बालबालिका यस्ता छन्, जसले भयङ्कर र दीर्घकालीन खडेरीको सामना गरिरहेका छन् । पछिल्लो ५० वर्षमा खडेरीबाट छ लाख ५० हजार मानिसको मृत्यु भएको छ ।
यस रिपोर्टानुसार तथाकथित विकासशील देशको खडेरीग्रस्त क्षेत्रमा रहने महिला र बालिकाहरू जति क्यालोरी ऊर्जा खपत गर्दछन्, त्यसको ४० प्रतिशत ऊर्जा पानी बोक्नमा खर्च गरिरहेका हुन्छन् । यी महिला र बालिकाहरू एक बाल्टी पानीको लागि कोशौँ टाढासम्म पैदलै हिँड्ने गर्दछन् ।
ग्लोबल वार्मिङ, अनियमित वर्षा, जङ्गलको अन्धाधुन्ध फडानी र भूमिगत जलस्तर तीव्रताका साथ तल झर्नुलाई हेर्दा यो निश्चित छ, खडेरी र जलसङ्कटमा आगामी दिनमा अत्यधिक वृद्धि हुने छ ।
ग्लोबल वार्मिङ, जलवायु परिवर्तन र अनियमित वर्षाका कारण कृषि उत्पादनमा पनि नकारात्मक प्रभाव परेको छ । विश्वव्यापी स्तरमा गहुँको उत्पादनमा यस वर्ष उल्लेखनीय सङ्ख्यामा कमी आउने निश्चित छ । भिषण लुको तातो हावाको कारणले भारतमा यस वर्ष गहुँको उत्पादनमा तीन प्रतिशतको कमी हुने भएको छ । उत्तरी अमेरिकामा जुन जमिनमा गहुँको खेती हुन्छ, त्यसको ७० प्रतिशत हिस्सा खडेरीको स्थितिसित जुधिरहेको छ । यसबाट अनुमान लगाउन थालिएको छ, यस वर्ष गहुँको उत्पादनमा कुल उत्पादनको आठ प्रतिशतसम्म कमी आउने छ ।
फ्रान्समा पनि यस वर्ष वर्षा कम भएका कारण गहुँको उत्पादन सामान्यभन्दा कम हुने छ । चीनमा पनि असामयिक वर्षाका कारण गहुँको उत्पादनमा प्रतिकूल प्रभाव परेको छ ।
ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कारण मजदुर र मिहिनेतकश जनताको खाद्य सुरक्षामाथि आज सङ्कटको कालो बादल घुमिरहेको छ ।
विश्वव्यापी खाद्य नीति रिपोर्ट–२०२२ का अनुसार सन् २०५० सम्म भारतमा सात करोड मानिस जलवायु परिवर्तनका कारण भोकमरीको सिकार बन्न सक्ने छन् । पछिल्लो साल जाडोमा बेमौसमी वर्षा र यस वर्षको भिषण लुका कारणले गर्दा आलुको उत्पादनमा पनि तीन मेट्रिक टनले कमी आएको छ । यस वर्ष आलुको मूल्यमा ५७ प्रतिशतसम्म वृद्धि हुनुको पछाडि यही मुख्य कारण थियो ।
“द हिन्दु” को एक रिपोर्टानुसार वर्षाको अनियमितता, तापक्रममा उल्लेखनीय उतारचढाव र भयङ्कर आद्रताको कारणले इलाइची, काजु र उखु जस्ता नगदी खेतीको उत्पादनमा उल्लेखनीय कमी आएको छ । बढ्दो तापक्रम र आद्रताको कारण बाली खाने किराको सङ्ख्या पनि बढेको छ । त्यसमाथि कीटनाशक औषधीको असर पनि कम हुँदै गइरहेको छ ।
एउटा महत्त्वपूर्ण तथ्य, जसलाई हामीले यहाँ स्मरण गर्नुपर्ने आवश्यकता छ, त्यो यो हो : भूमण्डलीय परिवर्तन वा जलवायु परिवर्तन खाद्य सङ्कटको मुख्य कारण होइन । यसको मुख्य कारण नाफाको प्रतिष्पर्धामा कायम भएको यो पुँजीवादी व्यवस्थाको अराजक, योजनाविहीन चरित्र हो । पर्यावरणीय विनाशका कारण अन्न उत्पादनमा उल्लेखनीय कमीले पहिलेदेखि नै विद्यमान खाद्य सङ्कटलाई अरू गम्भीर बनाउने काम गर्दछ ।
प्रत्येक दिन अघिल्लो दिनभन्दा भिषण हुँदै गइरहेको लु, शीतलहर, बाढी, खडेरी र खाद्य सङ्कटपछाडिको कारण ग्लोबल वार्मिङ हो । ग्लोबल वार्मिङ पुँजीवादी व्यवस्थाको उत्पादन हो । पुँजीवादी व्यवस्थालाई यस तथ्यसित कुनै पर्वाह छैन, पृथ्वीको तापक्रम र कार्बन उत्सर्जन ज्यानमारा स्तरसम्म बढ्दै गइरहेको छ । उसलाई खालि नाफाको जाँतो घुमाइरहनु छ । नाफाका लागि घाँटी छिनाउने प्रतिष्पर्धामा लागिरहेका पुँजीपति र उनीहरूको चाकरी गरिरहेका तमाम बुर्जुवा सरकार तथा राजनीतिक पार्टीसित हामीले यो आशा गर्न सक्दैर्नौँ, उनीहरूले प्रकृतिको यस्तो विनाशलाई रोक्न कुनै सकारात्मक कदम उठाउने छन् ।
यस्तो स्थितिमा हामी मजदुर वर्ग र मिहिनेतकश जनताले के गर्ने ? के हामी यसरी नै हातमा हात राखेर पर्यावरणको विनाशलाई हेरिरहने छौँ ? पूरै ब्रह्माण्डमा जीवनलाई पालनपोषण गर्ने एक मात्र ज्ञात ग्रह पृथ्वी हो, जसलाई हामीले आफ्नो घर भन्दछौँ, त्यसलाई यसरी नै भत्किरहेको देखिरहन सक्छौँ ? नाफाको भोक मेटाउनका लागि हाम्रो पृथ्वीमा जुन आगो बाल्ने काम गरिएको छ, के हामी त्यो आगोलाई त्यसरी नै बलिरहन दिऊँ ?
हामीलाई थाहा छ, लु, शीतलहर, बाढी, खडेरीको सर्वाधिक प्रकोप हामी मिहिनेतकश जनताले नै सामना गर्नुपरेको छ । त्यसैले हामीले प्रकृतिको विनाशलाई रोक्नका लागि व्यापक जनआन्दोलन सङ्गठित गर्नुपर्दछ, जसको लक्ष्य सम्पूर्ण पुँजीवादी व्यवस्थाको नाश होस् ।
पर्यावरण बचाउने प्रश्न बगैँचा गोडमेल गरे जस्तो होइन, बरु सङ्घर्षको प्रश्न हो । यो शब्दावली “मानवनिर्मित विपत्ति” पूरै गलत शब्द हो, जसको प्रयोग पुँजीपति वर्गले आफूद्वारा भइरहेको प्रकृतिको विनाशको दोष आम जनताको टाउकोमाथि थोपन गरिरहेको छ । आज प्रकृतिको विनाशको जिम्मेवार पुँजीवाद हो । त्यसैले यसलाई ‘पुजीवादनिर्मित विपत्ति’ भनिनुपर्दछ । हामीले यो पनि स्मरण गर्नुपर्दछ, यस मानवद्रोही पुँजीवादी व्यवस्थाको अस्तित्व रहेसम्म प्रकृतिको विनाशलाई रोक्न सकिन्न । त्यसैले हामीले यस जनआन्दोलनलाई पुँजीवाद विरोधी आन्दोलन र सर्वहारा क्रान्तिको प्रश्नसँग जोड्नुपर्दछ ।
मजदुर विगुल, २०२२ जुलाई
अनुवाद : प्रकाश थापामगर