काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६१९ जनाको आरटी पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार दुई हजार ७२२ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा तीन सय ९९ जना र दुई हजार ८९७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा चार सय ४९ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४१ हजार ६८० पुगेको छ । हालसम्म नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५२ सय नाघेको छ । हाल नेपालमा ५ हजार २५९ जना कोरोनाका सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन् ।
त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणका कारण एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० रहेका छन् ।
एवम् प्रकारले पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय २६ जना संक्रमित निको भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ९ लाख ७६ हजार ६०९ पुगेको छ ।