काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८१५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।
सो अवधिमा ४ हजार ५ सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ४११ जनाको पिसीआर र २ हजार १२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा ४७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७४ हजार २९५ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ छ । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको छ । होमआइसोलेशनमा ५ हजार ६७७, संस्थागत आइसोलेशन १९२, आइसीयूमा ६० र भेन्टिलेटरमा ८ जना संक्रमित रहेका छन् ।
हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा कैलाली र मोरङ छन् । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २ हजार ९२२, ललितपुर ८६८ र भक्तपुरमा ८९ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

