बागलुङ बजार । बागलुङ नगरपालिका–४ कुडुलेस्थित शालग्राम सङ्ग्रहालय चर्चित धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित हुन थालेको छ ।
बागलुङको पहिचानसग जोडिएको बाघको मुखको आकृति निर्माणसगै सङ्ग्रहालयको चर्चा झनै चुलिएर गएको हो ।
सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ ।
शालग्राम भन्नेबित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन्छन् र साक्षात्कार गर्न पुग्छन् । हिन्दु धर्मावलम्बीले शालग्रामको पूजा–आराधना गर्ने गरे पनि वर्तमान समयमा भने शालग्राम शिलाको संरक्षण अभावमा हराउँदै गएको अवस्थामा बागलुङमा सङ्ग्रह गरी राखिएको शालग्राम सङ्ग्रहालयलाई थप व्यवस्थित बनाइएको छ भने बाघको मुखबाट छिरेर शालग्राम सङ्ग्रहालय अवलोकनको व्यवस्था मिलाइएको छ ।
बागलुङ नाम बाघको नामसग जोडिएकाले बागलुङको पहिचानसग जोडिएको बाघको मुखको आकृति शालग्राम सङ्ग्रहालयको प्रवेशद्वारमा बनाइएको र शालग्राम दर्शन गर्न आउनेको रोजाइमा बाघको मुख आकर्षणमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।
‘भूमिगत रूपमा शालग्राम सङ्ग्रहालय बनाइएको छ । यसको प्रवेशद्वार भर्खरै मात्र बनाइएको छ । बाघको मुखको आकृति’ उहाले भन्नुभयो– ‘कृष्ण गण्डकीको पहिचानका रूपमा रहेको शालग्राम सङ्ग्रहालयसँगै बागलुङको नामकरणसँग जोडिएको बाघको आकृतिको प्रवेशद्वार अति नै महत्त्वपूर्ण छ ।’
तिरुपती बालाजीधामभित्र रहेको शालग्राम सङ्ग्रहालयको प्रवेशद्वार नै बाघको आकृतिबाट बनाइएको शालग्राम सङ्ग्रहालयले आफ्नो आन्तरिक आम्दानीबाट रु १५ लाख लागतमा निर्माण गरेको हो । भारत र नेपाली कलाकारको समन्वयमा उक्त १० फिट अग्लो र पाँच फिट चौडाइको आकृति बनाइएको हो ।
भारतीय पर्यटक शालग्राम दर्शनका लागि पछिल्लो समय यहाँ आउने गरेको पाइएको छ । मुक्तिनाथ दर्शनका लागि पुगेका दर्थनार्थीले यहाँको सवा लाख शालग्राम दर्शन गरेपछि मात्रै आफूलाई मुक्ति प्राप्त भएको प्रतिकृया दिँदै आएका छन् । विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि यहाँको एक मन्दिरले तीन वर्षअघि शालग्राम निर्माण गरेको हो भने एक दशकदेखि शालग्राम सङ्ग्रह गरेर राखिरहेको थियो ।

(बागलुङ नगरपालिका–४ कुडुँलेस्थित भूमिगत सङग्रहालयमा राखिएको विश्वकै दुर्लभ शिलाको रूपमा रहेको शालग्राम । तस्बिर : खेमराज गौतम/रासस)
मुस्ताङको मुक्तिनाथबाट म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजीधाममा शालग्राम सङ्ग्रहालय बनाएपछि शालग्रामप्रेमी दर्थनार्थीको आकर्षण बढ्दो छ ।
भगवान शिवको प्रिय अस्त्रका रूपमा मानिने त्रिशूल आकारमा भूगर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित रूपमा शालग्राम सङ्ग्रहालय, त्रिवेणीधामबाट दामोदर कुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति, वृत्तचित्र प्रदर्शनी कक्षलगायतका संरचना निर्माण भएका छन् ।
साविकको धौलागिरी अञ्चल सदरमुकाम बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित रङवेङ्कटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपती बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट शालग्राम सङ्ग्रहालय निर्माण गरिएको छ । झट्ट हेर्दा बाघको मुखभित्र यत्रो संरचना लुकेर रहेको छ भन्ने कुरा कसैलाई विश्वास हुँदैन तर शालग्राम सङ्ग्रहालयका लागि बाघको मुखबाट पसेपछि मात्रै यो कुरा विश्वास लाग्ने भ्रमणमा पुगेका पर्यटक सन्तु लामिछानेले बताउनुभयो ।
मुक्तिनाथ जाने धार्मिक पर्यटकलाई बागलुङ भित्र्याउनसमेत यस सङ्ग्रहालयले ठुलो योगदान गरिरहेको छ भने जिल्लाका अन्य पर्यटकीय गन्तव्यलाई समेत चलयमान बनाएको छ । हाल सङ्ग्रहालयमा साना साना शालग्रामदेखि तीन सय किलोसम्मको शालग्राम सङ्ग्रहित छ । परापूर्वकालदेखि नै शालग्राम सङ्ग्रहित गर्दै आएका स्वामी श्रीधरचार्यको सपना साकार पार्ने काम भएको भन्दै स्थानीय खुसी छन् ।
हिन्दु धर्मावलम्बीका लागि कालो रङको बाटुलो शिला (ढुङ्गा) शालग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । बैष्णव र सनातनीहरूले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रूपमा लिन्छन् । सङ्ग्रहालय नामकरण गरिएका स्वामी श्रीधरचार्य शालग्रामको महत्त्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणका अभियन्ता मानिन्छन् । उहाँको २०५६ सालमा ३९ वर्षको उमेरमा निधन भएको थियो । (रासस)